४ आश्विन २०८१, शुक्रबार

काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु

प्रकाशित मिति :  12 September, 2022 4:41 pm


काठमाडौं । काठमाडौं महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम गर्न पहल थालिएको वडा नं ३० का वडाअध्यक्ष दलबहादुर कार्कीले बताए ।

काठमाडौं महानगरपालिका भदौ १२ गतेको नगर कार्यपालिकामा मेयर बालेन्द्र शाहले ४ देखि ५ जना खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने प्रस्ताव राखेका थिए । फुड इन्सपेक्टर राख्नुपूर्व खाद्य परिकार बनाउने र बेच्ने व्यवसायीहरूलाई खाद्य स्वच्छता कायम गर्नलाई आवश्यक प्रशिक्षित गर्नुपर्ने खाँचो महसुस गरेर सहरी स्वास्थ्य प्रबर्धन केन्द्र वार्ड नम्बर ३० को अगुवाइमा यससम्बन्धी तालिम दिइएको छ ।

शहरी स्वास्थ्य प्रबर्धन केन्द्रको पहलमा मण्डिखाटारस्थित गेट कलेजको समन्वयमा वार्ड ३० का होटल व्यावसायी, रेस्टुराँ व्यावसायी, विद्यालयहरूका चमेना घर, खाज घर, ठेला पसले-मालिक तथा कर्मचारी गरि ५४ जनालाई पहिलो चरणमा खाद्य सुरक्षासम्बन्धी तालिम दिइएको हो ।

सहरी स्वास्थ्य प्रबर्धन केन्द्रकी प्रमुख डा. आरती शाह नेतृत्व तथा गेट कलेजका प्रुमख कार्यकारी अधिकृत खेम लकाइँको समन्वयमा आयोजित कार्यक्रममा खाद्य स्वास्थ्य फुड हाइजिन्, स्वास्थ्य मापदण्ड, फोहोर व्यवस्थापनलगायतका शीर्षकमा तालिम दिइएको थियो।

कार्यक्रममा बोल्दै सहरी स्वास्थ्य प्रबर्धन केन्द्रकी प्रमुख डा शाहले खाद्य व्यवसायीहरूले स्वास्थ्यका प्रत्येक विषयमा संवेदनशील नभएमा यही नै जटिल स्वास्थ्य समस्याको कारण बन्ने भएकाले सम्बन्धित व्यवसायीहरूलाई जागरुक बनाउन तालिम आयोजना गरिएको जानकारी दिइन ।

यसैगरि गेट कलेजका प्रमुख कार्यकारी अधिकृत लकाइँले खाद्य स्वच्छता मानव जीवनको हरेक पक्षमा अपरिहार्य भएको अवस्थामा महानगरपालिकाको महान अभियानमा हातेमालो गर्न पाउँदा खुसी व्यक्त गरे ।

विश्वका थुप्रै मुलुकमा खाद्य निरीक्षकको व्यवस्था रहेको प्रसंग उल्लेख गर्दै लकाइँले काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका दक्ष जनशक्तिलाई खाद्य निरीक्षक नियुक्त गरि महानगरमा खाद्य स्वच्छता कायम गर्न लाग्नु स्वागतयोग्य भएको विचार व्यक्त गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारी किशोर खत्री, प्रमुख प्रशिक्षक गेट भोकेसनल-फ्याब स्कुलका महाप्रबन्धक विवेक पौडेललगायत गेट कलेजका विभिन्न अध्यापकहरूले खाद्य सुरक्षा तथा स्वच्छताका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए भने विज्ञहरू डा. किरण पाण्डे, डा अनुपलगायतले खाद्य स्वच्छताका आयामबारे सहजीकरण गरेका थिए ।

वार्डको अगुवाइमा प्रमाण पत्र दिने तर बीच बीचमा अनुगमन गरेर सरसफाइ तथा खाद्य सुरक्षाको स्टिकर समेत प्रदान गरिने वडाअध्यक्ष कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस !