आज पनि काठमाडौंका सडक दिनभरजसो प्रभावित हुने
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले बुधबार पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएका छन्।
उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपरान्ह साढे ३ बजे भेट्ने कार्यक्रम रहेको छ । त्यस अघि चान्शु नेतृत्वको टोलीले त्यसअघि भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ।
उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला राजधानीको सवारी आगमन आज पनि दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
ट्राफिक कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरेको छ।
आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।
आजै अपरान्ह साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ।
उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
सोमबार ३ दिने भम्रणमा काठमाडौं आएका ली चान्सुले सोही दिन सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका थिए ।
त्यस्तै मंगलबार उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, र प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग भेटवार्ता गरेका थिए ।