बैंकहरुले आजदेखि दशैंका लागि नयाँ नोट सटही गर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट आजदेखि सर्वसाधारणले दशैंका लागि नयाँ नोट साट्न पाउने छन् । उपत्यका भित्रका सर्वसाधारणले आज अर्थात् भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् भने उपत्यका बाहिरका सर्वसाधारणले असोज २ गतेदेखि साट्न पाउने नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपाले जानकारी दिए ।
राष्ट्र बैंकले मंगलबारसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई २ अर्ब रुपैयाँ बढी नयाँ नोट वितरण गरेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि नयाँ नोट लाने क्रम जारी रहेको जनाएको छ ।
सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन्। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने नेपालले बताए।
राष्ट्र बैंकका अनुुसार प्रतिव्यक्तिले ५, १०, २०, ५० र १०० दरका गरी कुुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन्।
बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।