आजदेखि सिक्लेस हाइड्रोको आइपीओ निष्काशन तथा बिक्री खुला
काठमाडाैं। सिक्लेस हाइड्रोपावर लिमिटेडले आज भदौ २९ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
जसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
सिक्लेस हाइड्रोपावरको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा असोज १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले उक्त आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।