मोरङका ३६ भूमिहीनलाई लालपूर्जा वितरण
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज (बुधबार) मोरङ जिल्लाका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गरेकी छन् ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत् कानेपोखरी गाउँपालिकाको वडा नम्बर ६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवार गरेर ३६ वटा लालपूर्जा मन्त्री श्रेष्ठले वितरण गरेकी हुन् ।
श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएको बताइन् ।
उनले भनिन्, “यही वर्षभित्रमा गाउँब्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँब्लकमा लालपूर्जा वितरण गरिनेछ । अगामी २ वर्षभित्र भूमिसम्बन्धी सबै खालका समस्या समाधान हुनेछ ।’’
मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा गरिब पहिचान गर्ने र पहिचान भएका गरिव तथा विपन्न घरपरिवारलाई राज्यसुविधा परिचयपत्र दिने र राज्यसुविधा परिचयपत्रलाई संविधानमा नै लिपिबद्ध भएको गरिव तथा विपन्न लक्षित सेवा सुविधासँग आवद्ध गर्ने काम अगाडी बढाएको बताइन् ।