२० असार २०८१, बुधबार

कोरोनाको आशंकामा भर्ना गरिएका विरामीको ज्यान जानेक्रम बढ्दो तर मृत्युपछि आउने नमुना परीक्षण नेगेटिभ

प्रकाशित मिति :  30 March, 2020 5:21 pm


काठमाण्डौं, १७ चैत । कोरोनाको आशंकामा भर्ना गरिएका विरामीको मृत्यु हुनेक्रम बढेको छ । अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । तर, चितवनको भरतपुर रुपन्देहीको बुटवल कोरोना अस्पतालमा मृत्यु भएकाको स्वाब परिक्षण नेगेटिभ आएको छ ।

आज मात्रै पनि पाटन अस्पताल ललितपुरमा एक जना पुरुष र वीर अस्पताल एक पुरुष र एक महिलाको मृत्यु भएको छ । कोरोनाको आशंकामा आइसोलेशनमा राख्दा मृत्यु भएका दुबैको स्वाब परीक्षणको नतिजा आएको छैन ।

बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा हिजो मृत्यु भएका विरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरसको परीक्षण पनि नेगेटिभ देखिएको छ ।

पाल्पा स्थायी घर भएका ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको केन्द्रीय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा आज आएको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।

उनी वैदेशिक रोजगारीका लागि दुबईबाट यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले रुपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडाँडास्थित भाडाको निवासमा आराम गर्दै बसेका थिए । वैदेशिक रोजगारीमा दुबई रहँदादेखि नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि पनि स्थानीय मेडिकल, मुर्गियास्थित स्वास्थ्यचौकी हुँदै चैत १३ गतेमात्र बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेशनमा भर्ना भएका थिए ।

अस्पतालमा भर्ना भएपछि ज्वरो आउने र स्वास फेर्न गाह्रो भइरहेको अवस्थामा उनको आइतबार अपराह्न मृत्यु भएको थियो । उनको स्वाब भने हिजो चैत १६ गते बिहान मात्र परीक्षणका लागि काठमाडौँ पठाइएकामा आज प्राप्त रिपोर्टमा कोरोना नेगेटिभ पाइएको मेडिकल सुपरिटेन्डेन्ट डा खनालले जानकारी दिए ।

यसअघि चितवनको भारतपुर कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषको नमुना परीक्षण पनि नेगेटिभ आएको थियो ।



प्रतिक्रिया दिनुहोस !