विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ता विरुद्धका मुद्दा खारेज गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता विरुद्ध लगाएका मुद्दा खारेज गरेको छ ।
मुद्दा खारेज गर्ने निर्णय भएको भन्दै नेकपाले त्यसको स्वागत गरेको छ । प्रवक्ता प्रकाण्डले आज विज्ञप्ति जारी गर्दै भनेका छन्“ सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीन बुुँदे सहमति कार्यान्वयनलाई गुणात्मकता प्रदान गरेको छ ।”
नेकपाले तीन बुँदे सहमतिमा उल्लेखित नेकपाको दायित्वप्रति इमान्दार, प्रतिबद्ध रहेको र सहमतिको मर्मलाई अक्षरस : कार्यान्वयन गर्न दृढ रहेको बताएको छ ।
भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले नेकपाका नेता कार्यकर्ता विरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेको नेकपाले जनाएको छ । ललितपुर जिल्ला अदालतले २०७९ साउन ६ गते महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका शीर्ष नेता विरुद्ध पक्राउ पुर्जी जारी गरेको पनि नेकपाले असन्तुष्टि जनाउँदै आएको थियो ।
२०७७ फागुन २१ गते नेकपाले तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको थियो ।