२ माघ २०८१, बुधबार

सहुलियत दरमा चिनी उपलब्ध गराउन राष्ट्रिय उपभोक्ता मञ्चको माग

प्रकाशित मिति :  18 September, 2022 2:29 pm


काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले चाडपर्वको मौकामा भाउ बढाउने चलखेल भइरहेको भन्दै सहुलियत दरमा चिनी उपलब्ध गराउन माग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै मञ्चले भनेको छ,“स्वदेशी उद्योगसंग मौज्दातमा ११ हजार मेट्रिक टन मात्र चिनी मौज्दात रहेको भनि रहँदा एकोहोरो रुपमा बजारमा चिनी पर्याप्त छ र भाउ बढनु पर्ने कुनै कारण छैन भनि अडान लिएर बजार भाउ बढाउने खेल अर्थ मन्त्रालयबाट भई रहेकोछ ।”

सरकारले दशैं, तिहार तथा छठ लक्षित सुपथमूल्यका पसलहरु संचालन गरी बजार मूल्य हस्तक्षेप गरी आम उपभोक्तालाई राहत प्रदान गर्ने प्रयास गरेको उल्लेख गर्दै मञ्चले मन्त्रालयहरु बिचमा समन्वय नहुँदा आम नेपाली उपभोक्ताले उपभोग गर्ने चिनी यस पटकको दशैं बजारमा नपाउने बताएको छ ।

नेपाल सरकारको आपूर्ति मन्त्रालयले चाडबाडलाई लक्षित गरी सहुलियत दरमा चिनी उपलव्ध गराउनको लागी साल्ट ट्रेडिंङ कर्पोरेशन लि. र नेपाल खाद्य व्यापार कम्पनीलाई क्रमशः ३० र १० हजार मेट्रिक टन चिनी आपूर्ति गर्न छूट मूल्यमा आयात गर्न सिफारिश गरेपनि अर्थ मन्त्रालयले वेवास्ता गर्दा अहिले बजारमा प्रति किलो ११० रुपैयांमा किन्न उपभोक्ता बाध्य भएको मञ्चको भनाई छ ।

भारतले निर्यातमा प्रतिबन्ध लगाई सकेको चिनी आपूर्ति नेपालमा पर्याप्त आपूर्ति भई रहेको मञ्चले दाबी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखिएको पत्रमा भनिएको छ,“ नेपालको दक्षिणी सिमावर्ती क्षेत्रबाट तस्कर भई आउने चिनीको परिमाण दैनिक ३०० मेट्रिक टनको हाराहारीमा रहेको पाइएकोछ र त्यही चिनी नै अहिले बजारमा प्रर्याप्त मात्रामा उपलव्ध भई रहेको बिश्वस्त सुत्रबाट जानकारी प्राप्त भएको छ ।”



प्रतिक्रिया दिनुहोस !