मोहम्मद १० बर्ष जेल सजाय काटेर ५ बर्ष अघि छुटेका थिए
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार साँझ गोली प्रहार गरेर एक व्यवसायीको हत्या भयो। गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको ज्यान गएको हो।
१० बर्ष जेल परेका मोहम्मद ५ बर्ष अघि मात्रै जेल बसेर छुटेको खुलेको छ । उनी कुन मुद्दामा जेल परेका थिए भन्ने यकिन भसकेको छैन । सोमबार साँझ २ जना बन्धुकधारीले मोहम्मदलाई गोली हानी भागेका थिए ।
उनी गाडी रोकेर ओर्लिएलगत्तै एक व्यक्तिले उनलाई लखेट्दै गोली हानेको थियो। त्यसपछि उनीहरु त्यहाँबाट भागेका थिए। टाउको र तिघ्रामा गोली लागेका लाल मोहम्मदको उपचारका क्रममा राती त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो। घटनास्थलबाट एउटा पेस्तोल बरामद भएपनि संलग्नहरु पक्राउ पर्न सकेका छैनन्।
प्रहरीका अनुसार घटनास्थलमा बन्धुक र गोलीका चार वटा खोका भेटिएको छ । गोली हान्ने २ जनाको आक्रमणकारीको हुलिया पत्ता लागेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ । उपत्यका बाहिरिन सक्ने नाकाहरुमा कडाइ गरी प्रहरीले जाँच गरिरहेको बताएको छ ।