२ माघ २०८१, बुधबार

निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्दै

प्रकाशित मिति :  22 September, 2022 7:43 am


काठमाडौं । निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको हो ।

बुधवार विज्ञप्ति जारी गर्दै आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले सोबारे जानकारी दिएका हुन् । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

“अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ” , “यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।” प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ

सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ मा भएको व्यवस्था बमोजिम अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा यसअघि नै आदेश दिएको थियो ।

ऐनमा सरकारी कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ब्यारेकमा रहेका नेपाली सेना, कारागारमा रहेका थुनुवा, कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली सङ्कलन गरी मतदान गर्न पाउने व्यवस्था छ ।

आगामी कात्तिक १ गते प्राप्त अस्थायी मतदाताको विवरण रुजु गरी सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने, कात्तिक ४ गते प्राप्त निवेदन उपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेश गर्ने व्यवस्था आयोगले मिलाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस !