५ आश्विन २०८१, शनिबार

‘हरित हाइड्रोजनको विषयमा नेपालले छिट्टै नीति नियम निर्माण गर्नुपर्छ’

प्रकाशित मिति :  10 October, 2022 3:34 pm


काठमाडौं । नेपालले विद्युत र हरित हाइड्रोजनको प्रयोग गर्दा देशको अर्थतन्त्र बलियो हुने जल स्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बताएकी छन् ।

एमआईटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसनको आयोजनामा सुरु भएको ग्रिन हाइड्रोजन समिटको उद्घाटन गर्दै मन्त्री भुसालले ऊर्जाको आगामी भविष्यका रुपमा विश्वले प्राथमिकतामा राखेको हरित हाइड्रोजनसम्बन्धी हुन लागेको सम्मेलन हरित हाइड्रोजनसँग मात्र सम्बन्धित भएर यस तहमा गरिएको नेपालको पहिलो सम्मेलन भएको उनले बताइन् ।

मन्त्री भुसालका अनुसार हाइड्रोजन ऊर्जाका विषयमा विश्वले अहिले विशेष चासो र प्राथमिकतासहित अध्ययन अनुसन्धान गरिरहेको छ ।

उनले भनिन् , “विभिन्न विकसित मुलुकहरुले यसको उत्पादन र उपयोगको सम्बन्धमा नीति निर्माण गरेको र हाम्रो देशले पनि यस विषयमा छिट्टै नीति निर्माण गरी अगाडि बढ्नुपर्ने छ । ’’

एमआईटी ग्रुप फाउन्डेसनका अध्यक्ष शेष घलेले वातावरण प्रदुषण रोक्न, विश्व उर्जा संकटमा नेपालको उपस्थिति देखाउन ग्रिन हाइड्रोजन उत्पादनमा नेपालबाटै यो सुरुवात गर्न र नेपालले नै विश्वव्यापी नेतृत्व गर्न जरुरी रहेको बताए ।

उनले भने, “हरित हाइड्रोजन प्रयोग गर्दा कार्बनडाइअक्साइडको सट्टा पानी उत्सर्जन हुन्छ । यसलाई स्टिल, सिमेन्टजस्ता ठूला उद्योगहरूमा पनि प्रयोग गर्न सकिन्छ । हरित हाइड्रोजनले हरित मल निर्माण गर्न सकिन्छ । जसले खाद्य सुरक्षा तथा उर्जा भण्डारणमा पनि सहयोग गर्छ ।’’

घलेले नेपाल सरकारले नेपाल विद्युत् प्राधिकरणजस्तै पर्याप्त अधिकार र जिम्मेवारीसहितको एक हरित हाइड्रोजन प्राधिकरण स्थापना गर्नुपर्ने बताएका छन् । विश्वभरि अहिले दुषित ऊर्जा विस्थापनको अभियान बढ्दै गएको हुँदा त्यसलाई नेपालले पनि छिटो भन्दा छिटो अवलम्बन गर्नुपर्ने उनले बताए ।

‘पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट अर्थात् प्रतिरक्षा’ भन्ने मुल नाराका साथ आयोजना गरिएको सम्मेलनमा देशभित्र अनुकूल नीतिगत व्यवस्था कायम गर्दै विद्युत खपतमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ । सम्मेलनले जलविद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ ।



प्रतिक्रिया दिनुहोस !