५ आश्विन २०८१, शनिबार

बेमौसमी वर्षाले धान उत्पादन घट्ने चिन्ता

प्रकाशित मिति :  10 October, 2022 4:09 pm


कञ्चनपुर । धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घट्ने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताइन् ।

“चार दिनदेखिको वर्षाले बालामै धान टुसाउन लागेको छ धेरै ठाउँमा वर्षाले धान ढलेर कुहिन थालेको छ ।” उनले भनिन्,“गतवर्ष जस्तै यसवर्ष पनि धान उत्पादन घट्ने चिन्ता लागेको छ ।” भीमदत्त नगरपालिका–९ का ललितमोहन अवस्थीले पनि गत वर्षजस्तै यसवर्ष पनि धानमा क्षति पुगेको बताए । “सुरुमा धानमा रोग देखिएर क्षति भयो र अहिले भित्र्याउने बेला वर्षाले क्षति पुगेको छ ।” उनले भने,“धानका बोट ढलेर खेतमा कुहिन लागेका छन् ।”

कञ्चनपुर कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले गत वर्षको बेमौसमी वर्षाका कारण धान उत्पादनमा कमी आएको र यसवर्ष पनि तीन दिनदेखिको लगातारको वर्षाले धानको उत्पादनमा कमी आउनेसक्ने जानकारी दिए । “गतवर्ष कात्तिकमा आएको वर्षाले कञ्चनपुरमा १७ हजार हेक्टरको धानमा क्षति पु¥याएको थियो ,” उनले भने, “यस वर्ष पनि बेमौसमी वर्षा चलिरहेको छ धान उत्पादन घट्ने वा बढ्ने केही दिनपछि मात्रै थाहा हुन्छ ।” जिल्लामा ४८ हजार आठ सय ९६ हेक्टर जमिनमा धान खेती गरिँदै आएको उक्त कार्यालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस !