२० असार २०८१, बुधबार

कोरोना भाइरस नियन्त्रणका लागि फेरियो सरकारको रणनीति 

प्रकाशित मिति :  31 March, 2020 5:24 pm


काठमाण्डौं, १८ चैत ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले रणनीति फेरेको छ । अहिलेसम्म मानिस प्रवेशमा रोक्ने कामलाई ध्यान दिएको सरकारले अब नयाँ तीनवटा रणनीति बनाएर अगाडी बढेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मानिसहरुलाई सिमा प्रवेश रोक लगाउने काम प्रभावकारी भएको भन्दै अब नयाँ रणनीतिसहित अगाडी बढ्ने जानकारी दिए ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले पहिलो रणनीति अन्तर्गत विदेशबाट आएका र संकास्पद व्यक्ति अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था लागुगर्ने जानकारी दिए । उनले भने,‘अहिलेसम्म मानिसको प्रवेशमा रोक लगाउनेलाई मुख्य प्राथमिकता दिइएको थियो । अहिलेसम्म हेर्दा विदेशबाट आएकामा मात्रै संक्रमण देखिन्छ त्यसैले जसरी हुन्छ अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था लागु गराउने हो, यसलाई सुरक्षाकर्मीले पनि थप निगरानी गर्नेछन् ।

सरकारको दोस्रो रणनीति अन्तर्गत अनिवार्य नमुना परीक्षण गराउने रहेको छ । डा. देवकोटाका अनुसार विदेशबाट आएका, संक्रणको शंका भएका र तिनको सम्पर्कमा पुगेकाहरुलाई परीक्षणको दायरामा लिईने छ । डाक्टर देवकोटाले भने,‘दोस्रो रणनीति भनेको संकास्पद सबैको नमुना जाँच गर्ने हो ।’ र तेस्रो रणनीति अन्तर्गत अस्पताल व्यवस्थापनलाई ध्यान दिईने छ । निर्माण भएका अस्पताललाई सम्पूर्ण हिसाबले व्यवस्थित बनाउने र संक्रमितको उपचारलाई प्रभावकारी बनाउने डाक्टर देवकोटाले जानकारी दिए ।

सरकारले लकडाउनलाई थप कडाई गर्ने जनाएको छ । संक्रमण रोक्नका लागि होम क्वारेन्टाइन नै प्रभावकारी भएको भन्दै प्रवक्ता देवकोटाले यसलाई थप कडाईपूर्वक लैजाने बताए । प्रवक्ता डा. देवकोटाले भने,‘ कतिपय ठाँउमा लकडाउन राम्रो भएको छ, कतिपय बाहिर निस्किएका खबर पनि सार्वजनिक भएका छन् तर अब हामी थप कडाई गर्छौ ।’

नयाँ संक्रमित छैनन्

मन्त्रालयले आजसम्म १ हजार ६० जनाको नमुना परीक्षण गरेको जनाएको छ । यसअघिका ५ जनाबाहेक अन्य कसैमा संक्रमण नदेखिएको देवकोटाको भनाई छ । वीर अस्पताल र पाटन अस्पतालमा आइसोलेशनमा बसेकै क्रममा मृत्यु भएका तीन जना विरामीमा कोरोना भाइरसको संक्रमण नदेखिएको उनले जानकारी दिए । अहिलेसम्म टेकु अस्पतालमा १० जना र प्रदेशमा ७७ जना गरि ८७ जना कोरोनाको आशंकामा आइसोलेशनमा बसेका छन् ।

अब विदेशी विज्ञसँग अन्तरकृया 

सरकारले पाटन अस्पताललाई टेलिकन्फरेन्सका लागि समन्वय गर्ने जिम्मा तोकेको छ । अस्पतालले टेलिकन्फरेन्समार्फत आवश्यकता अनुसार कोरोना विशेषज्ञसँग छलफल र अन्तरकृया गर्ने छन् । पत्रकार सम्मेलनमा डाक्टर देवकोटाले भने,‘पाटन अस्पताललाई टेलिकन्फरेन्समार्फत समन्वय गर्नका लागि तोकिएको छ । अस्पतालले आवश्यकता अनुसार छिमेकी मुलुकसँग सम्पर्क गरेर संक्रमणबारे अध्यावधिक गर्ने छ ।’

 



प्रतिक्रिया दिनुहोस !