६ आश्विन २०८१, आइतबार

खाद्यका लागि कृषि अभियानले गर्यो खानाका लागि खेतीपाती गर्न स्थानीय सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  12 October, 2022 4:27 pm


काठमाडौं । खाद्यका लागि कृषि अभियान र सम्बद्ध संघसंस्थाहरुले सम्पूर्ण स्थानीय सरकारलाई खानाका लागि खेतीपाती गर्न ध्यानाकर्षण गराएका छन् । अभियान र संघसंस्थाहरुले इमेल मार्फत ध्यानाकर्षण पत्र पठाएर ध्यानाकर्षण गराएका हुन् । ४२ औँ खाद्य दिवश नजिकिँदै गर्दा अभियानले स्थानीय तहलाई खाना, खेतीपाती र जनस्वास्थ्यका सवालहरुमा ध्यानकर्षण गराएको हो ।

अभियानले ध्यानकर्षण पत्रमा मानिस मात्रका कारणले प्रकृतिमा ब्यापक फेरवदल आएको र यसले बहुसंख्यक जीवनयापनका आयाममा संकट थप्दै लगेको बताएको छ ।

बर्षनी बढिरहेको खाद्यान्न आयात, जथाभावि प्रयोग गरिएको कृत्रिम रसायनिक र घातक बिषादी, निर्जिव हुँदै गहिरहेको माटो, नेपालको प्रमुख कृषि उत्पादन र जनस्वास्थ्यका संकटको सुचक भएकाले समग्र खेतीप्रणाली र खाद्य प्रणाली दिगो बनाउने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएको बताउँदै अभियानले किसानको आलीदेखि चुलो सम्म देखेको समस्या स्थानीय सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर आफ्नो क्षेत्रको बाली, आली र थाली सपार्न ध्यानकर्षण गराइएको हो ।

हरेक बर्ष अक्टोवर १६ मा मनाइने खाद्य दिवस यसबर्ष पनि “उत्पादन, पोषण र वातावरणमा सुधार ः सुखी जीवनको आधार” भन्ने नारासहित मनाउन लागेकाे हो ।

तीनै तहमा कृषि, खाना, र खेतीपातीसँग सम्बन्धित रहेर कार्यक्रम आयोजना गरिने भएको छ । अभियानले ध्यानाकर्षण पत्र मार्फत सम्पूर्ण स्थानीय तहलाई ४२ औँ विश्व खाद्य दिवसको अवसरमा गरिने कार्यक्रमहरुमा सहभागी हुन आव्ह्वान पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !