११ मंसिर २०८१, मंगलबार

सुनिलस्मृतिले बजारक्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउने

प्रकाशित मिति :  13 October, 2022 1:24 pm


रोल्पा । रोल्पा सुनिलस्मृति गाउँपालिकाले वडा नं. ४ को सुलिचौर बजार र वडा नं. ३ को रुइनिबाङ बजारभित्र सडक अतिक्रमण गरि निर्माण गरिएको भौतिक संरचना हटाउने भएको छ ।

गाउँपालिकाले बुधबार सूचना जारी गर्दै सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना १५ दिनभित्र भत्काउन भनेको छ । घरधनीले नभत्काए गाउँपालिका आफैले भत्काउने सूचनामा उल्लेख छ ।

गाउँपालिकाले ‘ सडक वा सार्वजनिक क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्न नपाउने र सो गरेमा त्यस्तो क्षेत्रमा भण्डारण गरिएको व्यावसायिक वस्तु जफत गरी रु. १ हजार देखि रु. ५ हजासम्म जरिवाना’ गर्ने उल्लेख छ ।

गाउँपालिकाले सडक वा सार्वजनिक क्षेत्रमा निर्माण सामाग्रीको भण्डारण गर्न नपाउने समेत बताएको छ । भण्डारण गरेको सामाग्री सूचना जारी भएको समयमै हटाउने र नहटाए गाउँपालिकाले जफत गरी १ हजार देखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने भनेको छ ।

बजार व्यवस्थापन गर्ने भन्दै गाउँपालिकाले सडक अतिक्रमण गरेर निर्माण गरिएको भौतिक संरचना हटाउने तयारी गरेको हो । गाउँपालिकाले जथाभावी पार्किङ गरिएका सवारी साधनलाई पनि व्यवस्थापन गर्ने तयारी गरेको छ ।

तोकिएको ठाउँमा पार्किङ नगरे कारबाही

गाउँपालिकाले तोकिएको क्षेत्रमा मात्रै पार्किङ गर्न आग्रह गरेको छ । सुलिचौर बजारको लुङ्ग्री खोला र फागाम खोलाको दोभान स्थित गाउँपालिकाको नाउँमा रहेको खाली जग्गा भाडामा लिएर पार्किङ स्थल बनाइसकेको भन्दै सोही क्षेत्र प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

दुई पाङ्ग्रे बाहेकका सबै किसिमका सवारी साधनले सामग्री लोड अनलोड गर्दा पार्किङस्थलबाटै गर्न गाउँपालिकाले निर्देशन जारी गरेको छ । तोकिएको क्षेत्रबाहेक पार्किङ नगरी सडकमा जथाभावी पार्किङ गरे कारबाही गर्ने गाउँपालिकाको सूचनामा उल्लेख छ ।

विभिन्न घरहरूबाट,वर्षात,बाथरुम,भान्साको पानी समेत पाइप मार्फत सोझै सडकमा खसाल्ने गरिएको पाइएकाले सूचना जारी भएको मितिले १५ दिनभित्र त्यस्तो संरचना हटाई सडकमा पानी नपर्ने गरी नयाँ संरचना तयार गर्न र नभए पहिलो पटक २ हजार रुपैयाँ जरिवाना गर्ने गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !