कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले १५ शैयाको अस्पताल निर्माणका लागि जग्गा पायो
प्रकाशित मिति : 14 October, 2022 5:51 pm
काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले १५ शैयाको अस्पताल भवन निर्माणका लागि १ विगाह जग्गा पाएको छ ।
संघीय सरकारले साविक बकडरीया वडा नं. ९(क) स्थिति १ बिगाह जग्गा १५ शैयाको अस्पताल भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेको हो । संघीय सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उक्त जग्गा बुद्धभूमि नगरपालिकालाई सशर्त ३० वर्षका लागि प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।
अस्पताल निर्माणको पहिलो चरणका सबै काम सकिसकेपनि जग्गा प्राप्तिमा केही ढिलाई मात्रै भएको मेयर केशवकुमार श्रेष्ठले जानकारी दिए । उनले भने,“ अस्पताल निर्माणका प्रारम्भिक चरणका कामहरू भइसकेका छन्, जग्गा प्राप्तिमा केही ढिलो भएको हो ।”
मेयर श्रेष्ठका अनुसार अस्पतालन निर्माणका लागि फागुनमै टेण्डर समेत आव्हान भइसकेको छ ।