३ आश्विन २०८१, बिहिबार

कर्णाली सरकारले कोरोना रोकथाममा गम्भिरता नदेखाएको प्रतिपक्षी कांग्रेसको आरोप

प्रकाशित मिति :  1 April, 2020 11:14 am


सुर्खेत, १९ चैत ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको रोकथाम कार्यमा कर्णाली प्रदेश सरकारले गम्भीरता नदेखाएको आरोप लगाएको छ । कर्णाली प्रदेशसभा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विज्ञप्ति जारी गरी सरकारलाई ११ बुँदे ध्यानाकर्षण गराएका छन् ।

काङ्गे्रसले भारतबाट फर्केका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनमा राख्नुको साटो मन्त्रीहरुले नै रातारात गाउँ पठाएर जोखिम निम्त्याएको आरोप लगाएको छ । ‘क्वारेन्टाइन खाली छन्, भारतलगायतका मुलुकबाट भित्रिएका नागरिकलाई पहुँचका भरमा गाउँ पठाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारका गतिविधि प्रकोप नियन्त्रणभन्दा पनि बढोत्तरीमा उन्मुख भइरहेका छन्, सरकार पनि कोरोना भाइरसले गाउँलाई असर गर्दैन भन्ने निश्कर्षमा पुगेको देखिन्छ, बिनातयारी शहरबाट हुलकाहुल नागरिक गाउँ पठाउँदा झन् त्रास फैलिएको   छ ।’

प्रदेश सरकारले केही दिनअघि भारतलगायतका स्थानबाट फर्किएका कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकलाई सवारी पास उपलब्ध गराएर रातिको समय गाडी रिजर्भ गरेर गाउँ पठाएको भन्दै स्थानीयस्तरमा आलोचना भएको थियो । प्रदेश सरकारले महामारी रोकथामजस्तो संवेदनशील विषयमा विभेद गरेको काँगे्रसको टिप्पणी छ ।

यस्तै काँग्रेस सुर्खेत जिल्ला कमिटीले पनि अपिल जारी गर्दै क्वारेन्टाइन, आइसोलेसन, कन्ट्रयाक्ट टे«सिङको प्रभावकारी व्यवस्थापन गर्न माग गरेको छ । जिल्ला सभापति कमलराज रेग्मीद्वारा हस्ताक्षरित चार बुँदे उक्त अपिलमा कोरोना भाइरस परीक्षण सहज र छरितो बनाई जनमानसमा देखिएको त्रास हटाउनतर्फ ध्यान दिन सरकारसँग आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !