टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल प्रहरी च्याम्पियन
पोखरा । नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबलटेनिस खेलमा नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ काँस्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिष्पर्धीका रूपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ काँस्य पदक पाउँदै दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै बागमती प्रदेशले १ रजत र २ काँस्य सहित तेस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा आर्मीले २ काँस्य, एनआरएनएले २ काँस्य, प्रदेश १ ले २ काँस्य र गण्डकी प्रदेशले १ काँस्य पदक हात पारेका छन् ।
बुधबार आजै सम्पन्न महिला सिंगल्सको स्वर्ण पदक नवीता श्रेष्ठले हात पारेकी छिन् । पदक बिजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरेकी हुन् ।
प्रतिष्पर्धी खेलाडी दुवै नेपाल पुलिसका खेलाडी हुन् । बिजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भइन् भने एलिनाले रजत पदक जितिन् ।एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले काँस्य पदक पाउन सफल भइन् ।
यसैगरी पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक पाउन सफल भए ।
नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरेका थिए । श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भए भने रुविनले रजतमा चित्त बुझाए । यसै गरी नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले काँस्य पदक हात पारे ।