सकियो सूर्यग्रहण
काठमाडौं । कार्तिक कृष्ण औँसीका अवसरमा मंगलबार लागेको ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण बेलुकी पौने सात बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण नेपालको पश्चिमी भेगबाट राजधानीबाट भन्दा बढी स्पष्ट देखिएको जनाइएको छ ।
आजको सूर्यग्रहण ग्रस्तास्तअर्थात् ग्रहणकै समयमा सूर्यास्त भएकाले यस्ता ग्रहण बार्ने शास्त्रीय नियम फरक रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।
सामान्य अवस्थामा ग्रहण सकिने बित्तिकै अन्न खान समस्या नभए पनि आज ग्रस्तास्त सूर्यग्रहण लागेकाले बुधबार बिहान सूर्योदयपछिमात्र बाल, वृद्ध र रोगीबाहेकले भोजन गर्नुपर्ने नियम छ ।
बाल, वृद्ध र बिरामीले भने ग्रहणका बेला पनि भोजन गर्न सक्ने जनाइएको छ । यस्तो अवस्थामा पानी, कन्दमूल, फलफूल, हवनीय वस्तु (जौ), श्रोत्रीय ब्राह्मणलाई बनाएको खाना, गुरुको वचन र औषधि गरी आठ कुरा खान सकिने शास्त्रीय व्यवस्था रहेको उनले सुनाए ।
आधुनिक विज्ञानले भने ग्रहणमा भोजन निषेध नगरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । रासस