२० असार २०८१, बुधबार

स्वास्थ्य मन्त्रालयद्धारा विवादास्पद स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध, धरौटी जफत

प्रकाशित मिति :  1 April, 2020 5:00 pm


काठमाण्डौं, १९ चैत ।

सरकारले कोरोना उपचारका लागि भन्दै ओम्नी ग्रुपको ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरेको छ ।

सम्झौताको ब्यापक आलोचना भएपछि सरकारले सम्झौता रद्ध गर्दै धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमाआज स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्दबहादुर श्रेष्ठले ओबीसीआईसँगको सम्झौता रद्ध गरेको जानकारी दिदै भोलीदेखि नै औषधि खरिदका लागि नयाँ प्रकृया सुरु गर्ने जानकारी दिए ।

महानिर्देशक श्रेष्ठका अनुसार ओम्नी ग्रुपले सम्झौता अनुसार अहिलेसम्म १० प्रतिशत मात्रै सामान ल्याएको र बाँकी ल्याउन नसक्ने स्पष्ट भएको जानकारी दिए । उनले भने,‘ अहिलेसम्म उहाँहरुले सम्झौता अनुसारको १० प्रतिशत औषधि ल्याउनु भएको छ र रकमको हिसाबले १८ प्रतिशत ओगट्छ र अहिलेसम्म उहाँहरुले सामाग्री ल्याउन सक्नुभएन र ल्याउन सक्ने अवस्थापनि देखिएन त्यसैले सम्झौता रद्ध गरेको छुँ र भोली देखि नै नयाँ प्रकृया सुरु हुन्छ । ’

सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेर आइतबार मात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् सामान ल्याईएको थियो ।

महानिर्देशक श्रेष्ठले अब सस्तोमा सामान दिन्छु भन्नेहरुलाई प्रस्ताव लिएर आउन आग्रह गरे । उनले घटिमा ५  र बढीमा  ७ दिनभित्र सामान उपलब्ध गराउनुपर्ने बताए । उनले भने,‘ अहिले हामी महामारीको अवस्थामा छौं जतिसक्यो छिटौ गर्नुपर्ने छ, सस्तो दिन्छु भन्नेहरुले प्रस्ताव लिएर आउनुस् हामी प्रकृया सुरु गर्छौ ।’महानिर्देशक श्रेष्ठले यसअघि ल्याएको सामान २० प्रतिशत महंगो भएको समेत स्वीकार गरे ।



प्रतिक्रिया दिनुहोस !