३ आश्विन २०८१, बिहिबार

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

प्रकाशित मिति :  31 October, 2022 12:44 pm


सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । उनी एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउँछन्र । बिहानभरि चाउमिन पुर्याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ ।

केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए । सानो पुँजीमा सुरु गरेको उनको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना रोजगारीमा आबद्ध छन् ।

उनले कक्षा १० सम्मको अध्ययन पूरा गरेका छन् । २६ वर्षिय तामाङले कुनै समय भक्तपुर चाउमिन उद्योगमा सहयोगीका रूपमा दुई वर्ष र ‘मिस्त्री’का रूपमा ६ वर्ष काम गरे । त्यही उद्योगमा सिकेको सीपलाई परिवारको सल्लाहमा चाउमिन उद्योग सुरु गरेको उनको भनाइ छ ।

“धेरै समय बेरोजगार भएपछि बुबाआमासँग सल्लाह गरेँ, उहाँहरू मेरो योजनामा सहमत हुनुभयो”, तामाङले भने, “हाल बिबेक नुडल्समा उत्पादन भएको चाउमिनले बजारबाट राम्रो प्रतिक्रिया पाएको छ, यसले असाध्यै खुसी दिएको छ ।” कम्पनीबाट उत्पादन भएको चाउमिन इन्द्रावती गाउँपालिकाका १२ वटा वडा र मेलम्ची नगरपालिकासम्म पुग्ने उनको भनाइ छ ।

“हातमा सीप र जोखिम लिने क्षमता भयो भने सानो पुँजीमा पनि गाउँमै स्वरोजगार बन्न सकिन्छ”, तामाङले भने, “त्यसैले विदेश जानुलाई मात्रै विकल्प सोच्नु हुँदैन ।” रासस



प्रतिक्रिया दिनुहोस !