भीरकोट नगर अस्पतालको निर्माण अलपत्र: आरोप प्रत्यारोपमा पद्मा र छायाँराम
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर–६ एकुवारमा ‘एक स्थानीय तह एक अस्पताल’को अवधारण अनुसार १५ शौयाको अस्पताल निर्माणको विषयलाई लिएर यतिबेला वहसको विषय बनेको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्या निर्वाचन नजिकिँदै गर्दा शिलन्यास भएर अलपत्र परेकाे अस्पतालले पुन: चर्चा पाएको हो ।
वि सं २०७७ साल मंसिर १५ गते तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी पद्मा अर्यालले उक्त अस्पताल शिलन्यास गरेकी थिइन् । दुई वर्षसम्म पनि अस्पताल नबन्रुको मुख्य कारण भीरकोट नगरपालिकाको लापरबाही रहेको अर्यालले बताएकी छन् ।
भीरकोट नगरपालिकामा घरदैलो कार्यक्रममा बोल्दै अर्यालले आफू चार महिना स्वास्थ्य मन्त्रालय समाल्दा बजेट निर्माण गर्ने क्रममा नीति तथा कार्यक्रममा ‘एक पालिका एक अस्पताल’, ‘एक वडा एक स्वास्थ्य चौकी’ कार्यक्रम देशभर ल्याएको बताइन्। उक्त नीति तथा कार्यक्रममा स्याङ्जाको आफ्ना निर्वाचन क्षेत्रको हकमा भीरकोट नगरपालिकामा १९ करोड, वालिङ नगरपालिकामा २२ करोड, गल्याङ नगरपालिकामा १८ करोड, कालिगण्डकीमा १५ करोड र चापाकोट नगरपालिकामा १८ करोड छुट्याएको उनले बताइन् ।
“अस्पताल निर्माण गर्दा केन्द्रबाट नै प्रविधिकहरू खटाउँदा ढिलो हुने भएकाले देशभरका स्थानीय तहहरूलाई यसको जिम्मेवारी दिने भनेर बजेट पठायौँ । ३९७ वटा पालिकाहरुमा एकैदिन शिल्यान्स भयो । स्याङ्जाको हकमा गल्याङ, वालिङ र भीरकोट नगरपालिकामा आफैँले शिल्यान्स गरेँ तर स्याङ्जाको बाँकी पालिकामा अस्पताल निर्माण हुँदै छन् भीरकोट नगरपालिकाले विभिन्र वाहना गराएर पैसा फ्रिज गरायो,’’ उनले भनिन् ।
“भीरकोटमा नगरपालिकामा निर्वतमान नगरप्रमुख छायाराम खनाललाई पटकपटक फोन गरेर छिटो शुरु गर्नु न भन्दा पनि जग्गा मिलेन , डिपिआर मिलेन भनेर अल्झाउनु भयो । मैले पुन भने पुरानो डिपिआर च्यात्नुहोस् नयाँ बनाएर काम अघि बढाउनुहोस् भने, तर टेरेनन् ।” उनले थपिन् ।
निर्वतमान नगर प्रमुख छायाराम खनाल एमालेका उम्मेदवारले चुनावकाे मुखमा कांग्रेसले अस्पताल बनाएन भनेर जनतामा भ्रम फैलाएकाे बताउछन्। “अस्पतालको डिपिआरदेखि जग्गा खरिद गर्दा नगरपालिकाले ५० लाख खर्च गरेको छ । एमालेका उम्मेद्धवारले जनतालाई भ्रम पार्नको लागि हामीले गरेका काम आफूले जस लिएको छ”, उनले भने, ”त्यसको लागात ३७ करोड रहेको छ तर राज्यले १९ करोडमा बनाउन भन्यो त्यसकारण हामीले अस्पताल निर्माण गर्न सकेनौं ।’’
१५ शैयाको नगर अस्पताल निर्माण गर्नको लागि ९ रोपनी जग्गा ३६ लाखमा खरिद गरिएको थियो । कुल रू. १९ करोड बजेटमा अस्पताल निर्माण गर्ने निर्णय भए पनि अहिलेसम्म अस्पतालको डीपीआर बनाउने बाहेक अन्य कुनै काम भएको छैन ।