रोल्पाको रुन्टीगढी गाउँपालिकाद्वारा विद्यालय तहको स्थानीय पाठ्यक्रम निर्माण गर्न समिति गठन
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले विद्यालय तहको स्थानीय पाठ्यक्रम निर्माणका लागि समिति गठन गरेको छ ।
आज बसेको रुन्टीगढी गाउँ शिक्षा समितिको बैठकले समिति गठन गरेको हो । विद्यालय तहको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्न शिक्षा शाखा प्रमुख अन्जु शर्माको संयोजकत्वमा विज्ञ सहितको ‘स्थानीय पाठ्यक्रम निर्माण समिति गठन’ गरिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए ।
पाठ्यक्रम तय गर्नका लागि सुझाव संकलन गर्न सबै वडा अध्यक्षको संयोजकत्वमा सुझाव संकलन समिति समेत बनाइएको छ ।
अध्यक्ष पुनका अनुसार गाउँपालिकाका ९ वटै वडाअध्यक्ष नेतृत्वको समितिले सुझाव संकलन गरेर पाठ्यक्रम निर्माण समितिलाई बुझाउने छ ।
सुझाव संकलनका लागि समितिले ढाँचा तयार गर्ने छ । अध्यक्ष पुनले भने,“स्थानीय पाठ्यक्रम निर्माण समितिले सुझाव संकलनका लागि एउटा ढाँचा तयार गरेर उपलब्ध गराउने छ र सुझाव संकलन गरेर दिने छ ।”
सुझाव संकलन समितिले विद्यालयका शिक्षक, राजनीतिक दल, समाजका अगुवा लगायत सबैसँग सुझाव लिने अध्यक्ष पुनले जानकारी दिए ।
सुझाव संकलन गर्दा गाउँपालिकाको भौतिक, राजनीतिक, आर्थिक,सामाजिक, वातावरण , रहनसहन, संस्कृति, विकास भौतिक पूर्वाधार, प्राकृतिक स्रोत लगायतलाई समेटिने छ ।
गाउँपालिकाले आउँदो शैक्षिक शत्रदेखि लागू हुने गरी पाठ्यक्रम तयार गरिने अध्यक्ष पुनको भनाई छ । उनले भने,“हामी आउँदो शैक्षिक शत्रदेखि नै पाठ्यक्रम लागू गर्ने गरि काम गरिरहेका छौं ।”