२ माघ २०८१, बुधबार

क्रिकेटर सन्दीप विरुद्धको मुद्दामा थुनछेक बहस सकियो

प्रकाशित मिति :  4 November, 2022 2:18 pm


काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबारदेखि थुनछेक बहस चलेको थियो ।

बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए भने आज सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गरे पछि थुनछेक बसह सकिएकाे छ ।

सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो । मंगलबार भने सन्दीपको बयान गराइएको थियो ।

अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ ।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको थियो । उक्त मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

गत भदौ ५ गते राति सिनामंगलको एक होटलमा लगेर सन्दीपले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडित किशोरीले भदौ २१ गते गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् ।

उक्त उजुरीसँगै क्रिकेट खेल्न देशबाहिर रहेका लामिछानेलाई असोज २० गते त्रिभुवन विमानस्थलमा ओर्लिने वित्तिकै प्रहरीले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !