टी-ट्वान्टी विश्वकप: अफगानिस्तानमाथि अष्ट्रेलियाको रोमाञ्चक जित
काठमाडौं । आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा आयोजक टोली अष्ट्रेलियाले रोमाञ्चकजित निकालेको छ ।एडिलेटमा शुक्रबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराउदैँ रोमाञ्चक जित निकालेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो ।
अफगानिस्तानका लागि राशिद खानले अविजित रहदै सर्वाधिक ४८ रन बनाए । गुल्बादिन नाइबले ३९ रन बनाउदा रहमानउल्लाह गुरुबाजले ३० रन जोडे ।
अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५/२५ रनको योगदान दिए।
अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट तथा फजलहक फारुकीले २ विकेट लिए ।
जितसँगै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । समूह १ मा रहेको अष्ट्रेलियाले ५ खेलमा ७ अंक जोडेको छ ।