८ मंसिर २०८१, शनिबार

आन्तरिक पर्यटनलाई कम आकलन गर्न नहुनेः स्वीस राजदूत कप्लर

प्रकाशित मिति :  5 November, 2022 4:13 pm


काठमाडौं । नेपालका लागि स्वीजरल्यान्डकी राजदूत एलिजावेथ भन कप्लरले कोभिड-१९ महामारीका बेला नेपालको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनले बचाएको भन्दै आन्तरिक पर्यटनलाई कम आकलन गर्न नहुने बताएकी छन् ।

“कतिपयले आन्तरिक पर्यटनलाई उच्च मूल्यको पर्यटन नभएको गुनासो गर्ने गरेका छन् । वास्तविकता त्यसो होइन, आन्तरिक पर्यटनले बाह्य पर्यटनका लागि आधार सिर्जना गर्छ,” राजदूत कप्लरले भनिन् ।

हालै पूर्वी नेपालमा आरम्भ भएको मुन्धुम पदयात्रा मार्गको प्रशंसा गर्दै राजदूत कप्लरले नेपालमा रहेका विशाल सांस्कृतिक सम्पदालाई दिगो पर्यटनसँग अधिकतम आबद्ध गर्न अझै बाँकी रहेको विचार व्यक्त गरिन् ।

राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)को १२ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राजदूत कप्लरले नेपालको पर्यटनलाई दिगो बनाउन केही आधारभूत कुरामा सुधार गरेर उपयुक्त सेवा दिनुपर्ने र यसका लागि दक्ष जनशक्तिको महत्व हुने बताइन ।

आतिथ्य सत्कारसम्बन्धी समूह केजीएच ग्रुपकी कार्यकारी निर्देशक सगुनीसिंह शाक्यले नेपाल आउने ९९ प्रतिशत पर्यटकहरू नेपालले कम्तिमा २ हजार वर्षदेखि बचाएर राखेको संस्कृति, सम्पदा र परम्पराबाट मोहित हुने गरेको भन्दै नेपालको पर्यटन प्रवर्धनमा पछिल्लो अढाई वर्षमा युवाहरूले व्यक्तिगत तवरले गरेको योगदानले आन्तरिक पर्यटन फस्टाएको अनुभव सुनाइन ।

गेट कलेजको आवद्धता रहेको स्वीजरल्यान्डको ईएचएल शैक्षिक प्रतिष्ठानको ‘ईएचएल सर्टिफिसकेन पियर रिभ्यू’ विभागका प्रमुख एलेन नजारले बदलिँदो विश्व परिवेशमा हामी प्रविधिबाट अलग रहन नसक्ने भन्दै रोबटाइजेसनका युगमा आतिथ्य सत्कारका जनशक्तिले अझ बढी मानवमैत्री सेवा दिनु पर्ने र बढीभन्दा बढी उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।

गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेम लकाईँले नेपालमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सत्कार शिक्षा दिने उद्देश्यसहित सन् २००७ मा स्थापना भएको गेट कलेजबाट विश्वकै प्रसिद्ध होटलरी स्वीस तथा ईएचएलको सम्बन्धनमा हालसम्म १२०० विद्यार्थीहरूले आफ्नो शिक्षा पूरा गरेर अहिले पर्यटन क्षेत्रमा स्वदेशी तथा विदेशी प्रतिष्ठानहरूमा कार्यरत रहनुका साथै आफ्नै स्वः उद्यममा संलग्न भएको जानकारी दिए ।

कलेजको १२ औं दीक्षान्त समारोहमा १२४ विद्यार्थीहरू दीक्षित भएका थिए भने उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको थियो ।  



प्रतिक्रिया दिनुहोस !