स्याङ्जामा चुनाव अवधिभर मदिरा ब्रिकी वितरणमा रोक
प्रकाशित मिति : 16 November, 2022 12:52 pm
स्याङ्जा । स्याङ्जा जिल्ला प्रशासन कार्यालयले निर्वाचनको समयमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । निर्वाचनको ४८ घण्टापूर्व मदिरा सेवन गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जनाएका छन् ।
निर्वाचनको अवधिदेखि मतगणनाको नतिजा नआउँदासम्म मदिरा सेवन गर्न तथा बिक्री वितरण गर्न नपाइने सूचनामा बताइएको छ । मंसिर १ गते राति १२ बजेबाट नतिजा घोषणा नभएसम्मका लागि मदिरा निषेध गरिएको हो । यदि यो अवधिमा मदिरा सेवन तथा बिक्री वितरण गरिएको पाइएमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ६ अनुसार कारबाही हुने सूचनामा बताइएको छ ।
निर्वाचनको समयमा मदिराका कारण शान्ति सुरक्षा खलबलिन सक्ने भएकाले निर्वाचन शान्तिपूर्ण, भयरहित बनाउनका लागि मदिरा निषेध गरिएको हो ।