३ आश्विन २०८१, बिहिबार

रुपन्देहीका स्थानीय तहद्धारा राहत वितरण शुरु

प्रकाशित मिति :  2 April, 2020 8:17 pm


रुपन्देही, २० चैत ।

रुपन्देहीका स्थानीय तहले आजदेखि राहत वितरण शुरु गरेका छन् । सैनामैना नगरपालिका वडा नं ६ मा वडा कार्यालयले सङ्कलन गरेको विभिन्न खाद्यान्न वितरण गरिएको वडाध्यक्ष वसन्त पाण्डेले जानकारी दिए । उक्त वडाका दलित समुदायका विपन्न परिवारलाई १० किलोग्राम चामल, एक किलोग्राम नून र एक लिटर खाने तेल वितरण भएको छ ।

त्यस्तै कञ्चन गाउँपालिकामा पनि राहत वितरण आजदेखि शुरु गरिएको छ । गाउँपालिकाको वडा नं २ स्थित मटेरिया विद्यालयबाट विपन्न समुदायका परिवारलाई राहत वितरण शुरु भएको अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिए । उक्त वडाका २०६ जनाले राहत पाएका छन् । उनीहरुलाई १५ किलोग्राम चामल, एक लिटर खाने तेल, एक किलोग्राम दाल, एक पोका नून, एउटा हात धुने साबुन गाउँपालिकाको विपद् तथा प्रकोप व्यस्थापन कोषबाट वितरण भएको उनले जानकारी दिए ।

सियारी गाउँपालिकाका करिब ७ सय घरधुरीलाई पनि राहत वितरण गरिएको छ । गाउँपालिकाका वडा नं ४, १ र ३ मा आज राहत वितरण गरिएको हो । गाउँपालिकाले परिवारको सङ्ख्या हेरेर १० देखि २० किलोग्राम चामल, दुई किलोग्राम दाल, एक किलोग्राम नून र हात धुने साबुन वितरण गरेको अध्यक्ष अयोध्या थारुले जानकारी दिए ।

निजी मेडिकल खोल्न निर्देशन

यसैबीच सैनामैना नगरपालिकामा रहेका निजी मेडिकल तथा क्लिनिक खुला राख्न नगरपालिकाले आज निर्देशन दिएको छ । नगरपालिकाका उपप्रमुख बीना रानाको संयोजकत्वमा बसेको नगर स्वास्थ्य समन्वय समितिको बैठकले सो निर्देशन गरेको नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

अनुगमनका क्रममा मेडिकल खुला नभएको पाइए कारवाही हुने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस !