२३ असार २०८१, शनिबार

लकडाउन केही सहज बनाउने सरकारको निर्णय, सिमाबाट भित्रनुअघि १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने

प्रकाशित मिति :  2 April, 2020 8:39 pm


काठमाडौं, २० चैत ।

सरकारले अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र विभिन्न क्षेत्रमा सञ्चालित आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पाखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अहिलेसम्म भए गरेका गतिविधिको पुनरावलोकन गर्दै अत्यावश्यकीय वस्तुको आपूर्ति सहज बनाउन र आयोजनालाई गति दिन उक्त निर्णय गरेको हो ।

मुलुकभित्र खाद्य र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने र अन्य उद्योगले पनि आफ्नै आवासीय मजदूर परिचालन गरेर सञ्चालन गर्न सक्ने भए त्यसलाई पनि सञ्चालन गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । उद्योग सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूरा गर्नुपर्नेछ । सञ्चालन गर्ने उद्योगलाई स्थानीय प्रशासनको आवश्यक सहयोग रहने छ । उद्योग सञ्चालन गर्दा भने आवागमन गर्न पाइने छैन ।

समितिको बैठकले तामाकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानीलगायत आयोजनाका मजदूर धेरै रहेकाले सुरक्षाका सबै उपाय अपनाएर बाहिरबाट प्रवेश गर्न नदिइ भित्रकै कामदारलाई परिचालन गरी सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।
अन्य आयोजनालाई पनि आफ्नै क्षेत्रभित्रका मजदूर बाहिर नपठाइ परिचालन गरेर सञ्चालन गर्न अनुमति दिने र यसको सहजीकरण भने स्थानीय प्रशासनले गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।

हिउँदे बाली भित्र्याउने र बर्खे धान रोप्ने बेला भएकाले गहुँ काट्ने या धान रोप्ने या अन्य कृषि कार्य गर्ने विषयमा बाहिरी श्रमिक नल्याइ स्थानीय र पारिवारिकरुपमा बाली लगाउन र उठाउनका लागि अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ ।

मुख्यतः स्वास्थ्य उपचार, खाद्यान्न, स्वास्थ्य सामग्रीको आपूर्ति, शान्तिसुरक्षा तथा सूचना प्रविधिलगायतका कार्यसम्पादन गर्ने विषयमा क्यालेन्डर बनाएर अघि बढ्ने गरी छलफल भएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए ।

नियमितरुपमा आयात भएका दैनिक आवश्यकीय वस्तु र मुलुकभित्र उत्पादन भएका वस्तुको लेखाजोखा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

सीमाको क्वारेन्टाइमा बसेका नागरिकलाई अप्ठ्यारो हुन नदिन नेपालमा भएका विदेशी श्रमिकलाई सरकारले आवश्यक सुरक्षा दिने निर्णय गर्दै विदेशमा भएका नेपालीलाई पनि सुरक्षितरुपमा राखेकामा ती मुलुकलाई धन्यवाद दिने निर्णय पनि भएको छ । उनीहरुलाई १४ दिन भने क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले एकआपसमा सहयोग गर्नसमेत अनुरोध गरिएको छ ।

स्वास्थ्य सामग्रीको विषय अनुसन्धानपछि मात्रै भन्न सकिने

सरकारका प्रवक्ता डा. खतिवडाले पत्रकारले सोधेको जिज्ञासामा स्वास्थ्य सामग्री खरिदका विषयमा कसैले भनेको कुराबाट प्रभावित नभई आवश्यक अनुसन्धानपछि मात्रै भन्न सकिने बताए। ‘महत्वपूर्ण कुरा सामग्री आएर मानिसको जीवन रक्षा भइरहेको छ, महङ्गो भयो कि भएन, विधि पुग्यो कि पुगेन भनेर हेर्ने निकाय छुट्टै छ’, डा. खतिवडाले भने ।

सरकारी तवरबाटै सामान ल्याउँदा उत्तम हुने जानकारी दिँदै मन्त्री खतिवडाले सरकारले यसअघि प्रयोग गरे पनि सफल हुन नसकेको बताए ।

दुवै छिमेकी मुलुक समस्यामा परेकाले सरकारी तवरबाट खरिद गर्न नसक्दा निजी क्षेत्रलाई आह्वान गर्नु परेको उनले अनुभव सुनाउनुभयो । सरकारी तवरबाट गर्न सकिन्छ भने त्यसमा पनि आवश्यक कदम चाल्ने विषयमा समेत आजको बैठकमा छलफल भएको मन्त्री खतिवडाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !