ज्वरो आएर भरतपुर अस्पताल पुगेकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने
चितवन, २१ चैत ।
चितवनमा विरामी भएर उपचारका लागि लगिएकी एक युवतीको मृत्यु भएको छ । सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।
राति १२ बजे अस्पताल पुराईएकी राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।
उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि मृतकको स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ ।
युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको अध्यक्ष अधिकारीले जानकारी दिए । कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले ज्वरो आएपछि राईलाई राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो ।