२० असार २०८१, बुधबार

स्वास्थ्य सामाग्री सेनालाई खरिद गर्न दिने भनेपछि विवाद,सत्तारुढकै नेताको प्रश्न,‘के सिभिलियनले आफ्नो क्षमता गुमाएकै हुन् ?’

प्रकाशित मिति :  3 April, 2020 12:29 pm


काठमाण्डौं, २१ चैत ।

सरकारले सेनालाई स्वास्थ्य सामाग्री खरिद गर्न दिने भनेपछि सत्तारुढ पार्टीभित्रकै नेता असन्तुष्ट देखिएका छन् भने अन्य दलका नेताले समेत आलोचना गरेका छन् ।

चीनबाट स्वास्थ्य सामाग्री ल्याएको कम्पनीसँग ठेक्का सम्झौता रद्ध गरिसकेको सरकाले अन्य स्वास्थ्य सामाग्री ल्याउने जिम्मा सेनालाई दिने तयारी गरेपछि आलोचना सुरु भएको छ । यसले सरकार एकपछि अर्को विवादमा फस्दै गएको छ ।

सेनालाई स्वास्थ्य सामाग्री खरिद गर्न दिने निर्णयको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्चाल ट्वीटरमा लेखेका छन्,‘ हुरीबतास आयो घर बनाउने जिम्मा सेनालाई । महामारी आयो औषधी किन्न् जिम्मा सेनालाई । ठूलो बजेट भयो बाटो बनाउने जिम्मा सेनालाई । यो सेनाको कामै होइन । सेनामा अख्तियारले हेर्न नपाउने भएकाले लिने-दिने दुबैलाई राम्रै लाग्ला तर हाम्रो प्रणाली कमजोर हुन्छ । दीर्घकालिन रुपमा सौंचौ ।’

रिजालले ट्वीट गरेको केही समयपछि नै नेकपाकी नेतृ रामकुमारी झाँर्कीले सरकारको निर्णप्रति असन्तुष्ट पोख्दै लेखिन,‘ के सिभिलियनले आफ्नो क्षमता गुमाएकै हुन् ? किन विश्वास गुम्यो त सार्वजनिक निजामति प्रशासनको ? पूर्व प्रशासकहरुलाई बहसमा आउन अनुरोध गर्छु । ’

सत्तारुढ दलका नेताको असन्तुष्टिसँगै अन्य दलका नेताले समेत सरकारको नेताको अलोचना गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लेखेका छन्,‘सार्वजनिक खरीदविक्रिको काममा समेत सेनालाई प्रयोग गर्नु उपयुक्त हुँदैन । त्यसले सरकारको नियमित कार्यक्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ । मलाई लाग्दैन हामी त्यो अवस्थामा पुगिसकेका छौं ।’

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बावुराम भट्टराईले समेत स्वास्थ्य सामाग्री सेनालाई खरिद गर्न दिने निर्णयको विरोध गरेका छन् । उनले हिजै समाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । उनले भनेका छन्,‘ भाइरस मार्ने बन्दुक र गोलीले हैन होला ! अनि सरकारले किन चीनबाट स्वास्थ्य सामाग्री किन्न सेनालाई अघि सारेको होला ? के बाणिज्य,आपूर्ति लगायतका निजामति निकाय छैनन् ? जीटुजी विधिबाट पहिल्यै किन नल्याएको ? के सेना अख्तियारको दायरामा पर्दैन भनेर हो ? चोरको खुट्टा काट् भन्दा किन खुट्टा तानेको ?’

विश्वव्यापी रुपमा कोरोना भाइरसको सन्त्रास फैलिएको बेला सरकार भने विवादमा फसिरहेको छ । मेडिकल जन्य सामाग्री खरिदमा भ्रष्टाचार भएको आरोप लागेसँगै सरकारले ठेक्का लिएको कम्पनीसँग सम्झौता तोडिसकेको छ । अब सामाग्री ल्याउने जिम्मा सेनालाई दिने भनेपछि विवाद सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !