दलहरूको बेग्ला बेग्लै अडानले चौथो दिनमा पनि सुरू भएन स्याङ्जा-२ को मतगणना
स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ को मतगणना निर्वाचनको चौथो दिन बितिसक्दा पनि अन्योलमा रहेको छ । नेपाली कांग्रेसले चापाकोटका चार वटा मतदान केन्द्रमा धाँधली गरेको भन्दै नेकपा एमाले लगायत अन्य दलहरूले चौर्तफी विरोध गरेपछि मतगणना अन्योलमा परेको हो ।
योसँगै नेकपा एमालेले पुन निर्वाचन हुनुपर्छ भनेर पत्रकार सम्मलेनदेखि निर्वाचन कार्यालय अगाडि नाराबाजी गर्यो भने गठबन्धले मतगणनालाई अघि बढाउनुपर्छ भन्दै निर्वाचन कार्यालय अघि धर्ना नै बस्यो ।
लुम्बिनी सञ्चारसँग कुरा गर्दै नेकपा एमाले क्षेत्र नम्बर २ की उम्मेदवार पदमा अर्यालले आफ्नो पार्टीले निर्वाचन आयोगलाई सबै प्रमाणाहरू पठाउँदा पनि कुनै निर्णय नगरेको बताएकी छन् । चापाकोटका चार वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले हाट बजारको शौलिमा कर्मचारी, मरेका मान्छे र विदेशी नागरिकको नाममा मतदान गरेको आरोप अर्यालले लगाएकी छन् । उनले भनिन्, “नेकपा एमाले जनताको मतले कहिल्यै हारेको छैन । एमाले हार्नुको मुख्य कारण नेपाली कांग्रेसको जब-जब हार निश्चित हुन्छ तब-तब धाँधलीदेखि बुथ कब्जा गर्ने दुप्रयास गर्छ । त्यसकारण पुन निर्वाचन हुनुपर्छ । नत्र उनीहरूलाई जनताको मत बिना नै सत्तामा पुग्नु छ भने टिका लगाएर पठाउँदा हुन्छ ।’’
यता नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ्गले आफूहरूले धाँधली नगरेको बताएका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सबै सुरक्षाकर्मी, कर्मचारी र जनताहरू भएको ठाउँमा कांग्रेसले धाँधली गर्यो भन्रु जनता र कानुनको अघि भ्रम फैलाएको गुरुङ्गको भनाइ छ ।
उनले भने, “कि त निर्वाचनको ऐन, कानुन मान्दैनौँ भन्रु पर्यो, कि जनताले आफ्नो इच्छाले चाहेको मान्छेलाई दिएको मतको गणना हुनुपर्यो । त्यसकारण मतगणना बाहेक अन्य विकल्प हामीसँग छैन ।’’
त्यस्तै स्याङ्जा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकाराज गुरुङ्गले समेत प्रेस विज्ञप्ती सार्वजनिक गर्दै कुनै पनि राजनीति पार्टीले व्यक्तिको मतप्रति हस्तक्षेप गर्नु भनेको देशमा आफ्नो शासन चलाउन खोज्नु र जनतालाई उल्लु बनाई सत्तामा पुग्ने खेल रहेको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले भने आवश्यक कागजात मगाएर अध्ययन गर्ने काम भइरहेको हुँदा अहिलै के हुन्छ भन्ने अवस्था नरहेको जनाएको छ ।
स्याङ्जा २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ, एमाले केन्द्रीय सचिव पद्मा अर्याल, राप्रपाका लालगोपाल अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ लगायतका उम्मेदवार चुनाङवी मैदानमा छन् ।