११ कार्तिक २०८१, आइतबार

अर्घाखाँचीमा एमालेको ‘क्लीन स्वीप’

प्रकाशित मिति :  24 November, 2022 2:42 pm


अनिल नेपाली

अर्घाखाँची । अर्घाखाँचीमा पाँच दलिय गठबन्धनलाई पराजित गदै तीन वटै क्षेत्रमा नेकपा एमालेले जित हासिल गरेको छ।

प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका हुन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।

२०६४, २०७० मा संविधान सभा सदस्य भएका रायमाझी २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका थिए । रायमाझीले चौथौ पटक अर्घाखाँचीबाट जित हासिल गरेका छन् । तत्कालीन नेकपा विभाजनपछि भने उनी माओवादीमा फर्किएनन् । उनलाई माओवादीले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।

अर्घाखाँचीको फलेपतमा जन्मिएका रायमाझीले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०४३ मा अनेरास्ववियु छैटौंको केन्द्रीय उपाध्यक्ष र २०४४ सालमा अध्यक्ष बनेका उनी २०४८ मा योङ कम्युनिस्ट लिग वाईसीएल, नेपालको संस्थापक अध्यक्ष भए ।२०४८ मा पार्टीको केन्द्रीय सदस्य बनेका रायमाझी डा. बाबुराम भट्टराईसँगै एकता केन्द्रमा गए । नेकपा माओवादीले सशस्त्रयुद्ध थालेपछि उनी २०५३ मा अखिल भारत प्रवासको इञ्चार्ज बने । २०५५ मा माओवादीको पोलिटब्यूरो सदस्य बनेका उनी २०७० मा पार्टी सचिवमा निर्वाचित भए ।

बाबुरामको साथ छाडेका उनी २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री बनेका थिए ।त्यसअघि २०६६ सालमा उनी भौतिक योजना तथा निर्माण मन्त्री, २०६७ मा स्थानीय विकास मन्त्री र २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए।

यस्तै, अर्घाखाँचीको प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन्। उनी २० हजार ५ सय ४८ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरे। आचार्य २०७४ सालमा पनि यहीँ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा विजयी भएका थिए । लुम्बिनी प्रदेशको कानुन मन्त्री समेत बनेका आचार्य एमालेको केन्द्रीय सदस्य जिल्ला सह-इन्चाज हुन्।

यस्तै, नेकपा एमालेको तर्फबाट प्रदेश सभा (ख) मा रामजीप्रसाद घिमिरे विजयी भएका छन् ।नेपाली काँग्रेसका उम्मेदवार कमल भुसाललाई पराजित गर्दै घिमिरे विजयी भएका हुन । विजयी घिमिरेले २२७७६ ल्याउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमल भुसालले २१९७७ ल्याएका हुन । ७९९ मतान्तरले घिमिरे विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !