११ कार्तिक २०८१, आइतबार

सत्ता गठबन्धनलाई पराजित गर्दै काभ्रे-२ मा गोकुल बाँस्कोटा निर्वाचित

प्रकाशित मिति :  25 November, 2022 1:38 pm


काभ्रे । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार नेकपा एमालेका गोकुल बाँस्कोटा विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईलाई ५ हजार ८६३ मतान्तरले पराजित गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री बाँस्कोटा निर्वाचित भएका हुन्।

अन्तिम परिणामअनुसार बाँस्कोटाले उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतले पराजित गरेका हुन् । बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् भने हुमागाईंले ३९ हजार ४ सय ८२ मत पाएका छन् ।

हुमागाईंपछि क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं तेस्रो स्थानमा छन् । उनले १० हजार ५ सय ७३ मत पाएका छन् ।

बाँस्कोटा यसअघिको २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाटै निर्वाचित भएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको विश्वासिलो पात्र मानिने बाँस्कोटाले सञ्चारमन्त्री पद सम्हालेकै बेलामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी अडियो लिक भएपछि विवादमा मुछिएका थिए ।



प्रतिक्रिया दिनुहोस !