११ कार्तिक २०८१, आइतबार

‘ढोका क्रस’ गरेर विजयी बनेका सूर्य थापा

प्रकाशित मिति :  25 November, 2022 1:59 pm



काठमाडौं । प्यूठान कम्युनिष्ट पार्टीका ‘महासचिव/महामन्त्री’ उत्पादन गर्ने जिल्ला भनेर समेत चिनिन्थ्यो ।

कुनै समय कम्युनिष्ट पार्टीका महामन्त्री वा महासचिवमा प्यूठानका नेताको वर्चस्व थियो । राजनीतिक उथलपुथलपछि प्यूठानले यो परिचय फेर्न थाल्यो ।

नेकपा (मसाल)को दबदबा समेत मानिने प्यूठानमा प्रतिनिधि सभाका लागि २०७४ मा बाम गठबन्धनबाट नेकपा(मसाल) को खुल्ला मोर्चा राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले चुनाव जितेकी थिइन् ।

पौडेलले नेपाली कांग्रेसका गोविन्दराज पोख्रेललाई पराजित गरेकी थिइन् । यसपटक बाम लोकतान्त्रिक गठबन्धनको सिट बाँडफाँडमा हुँदा प्यूठान राष्ट्रिय जनमोर्चाको भागमा परेको थियो । उम्मेदवार उनै पौडेल बनिन् । उनी नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहकी श्रीमती हुन् । स्थानीय चुनावको नतिजा अनुसार बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा अंक गणित थियो ।

प्रतिकुल अंकगणितका बिच पनि यसपटक चुनाव लड्न चाहन्थे,नेकपा विभाजनका क्रममा एमालेमै बसेका नेकपा माओवादी केन्द्रका पूर्व नेता मणि थापा । थापा चुनाव लड्ने आकांक्षा बोकेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न समेत गएका थिए ।

मणिले ओलीसँग चुनावको टिकट माग्न जाँदा ढिलो भइसकेको थियो । अर्थात नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले नेकपा विभाजनपछि र स्थानीय तहकै चुनावका बेला जिल्लामा आफ्नो पक्षमा माहोल बनाइसकेका थिए र नेतृत्व पंक्तिलाई विश्वास दिलाइसकेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार रहेपछि ‘छुच्चो प्रवृत्ति’को मान्छेको पहिचान बनाएका थापा स्थानीय तहमा जिल्लाभरि घुमेर जनतालाई नमस्कार गरेर आफूलाई ‘सुधार’ गरिसकेका थिए । चुनाव अघिको एक भेटमा थापाले भनेका थिए,“ म त गाउँमा पुरै सबैको प्यारो भइसकेँ नि, तपाईंहरूले मलाई जस्तो(छुच्चो) मान्नुहुन्छ म पुरै फेरिइसकेँ ।”

कुनै एक भेटमा अध्यक्ष केपी ओलीले सूर्य थापा त ‘आजकल बिग्रेछ’ (कडा नबोल्ने भएको) भनेर समेत जिस्काएको प्रसंग स्मरण थापाले गरेका थिए ।

प्यूठानमा पहिलो पुस्ताको कम्युनिस्ट नेता ‘फेजआउट’ हुनेक्रममा छन् । मोहनबिक्रम सिंह, मोहन बैद्य किरण, बामदेव गौतम लगायतका नेताको छापबाट प्यूठान माथि उठ्ने चरणमा छ ।

राष्ट्रियस्तरमा यसको अगुवाई गर्ने तुलनात्मक बढी प्रतिस्पर्धामा थिए नेकपा एमालेबाट (सूर्य थापा) र नेपाली कांग्रेबाट गोविन्दराज पोखरेल । पाेख्रेल र थापालाई पुरानो पुस्ताकाे विरासत आफ्नो काँधमा ल्याएर अगाडि अवसर थियो तर पोखरेलले पार्टीभित्रै र गठबन्धनको चेपुवामा परेर उम्मेदवार नै हुन पाएनन् । गठबन्धनको साथ पाउँदा पौडेल र सूर्य थापामात्रै नयाँ पुस्ताको नेतृत्व गर्ने प्रतिस्पर्धामा रहे ।

आलोचकहरूले थापालाई काठमाडौं खाल्डोमा बसेर ‘ढोके राजनीति’ राजनीति गरेको भन्ने गर्थे । थापाले ‘काठमाडौं र नेताको ढोका’ छोडेर प्यूठानको चुनावी मैदानमा पुग्दा अंकगणित प्रतिकुल थियो भने सत्ता गठबन्धनको दबदबा पनि कम थिएन । चुनावकै दौरानमा थापाले कहिलेकाही नजिकका साथीसँग हाँस्दै भन्ने गर्थे,“ खै पार्टीले हारोस् भनेरै पठाएको हो कि क्या हो ?”

सम्भवतः थापा एमालेको चुनाव जित्ने लिष्टमा थिएनन् । लुम्बिनी सञ्चारसँग थापाले भने,“मैले चुनाव जित्छु भन्ने धेरैलाई लागेको थिएन तर जनताको माया र सद्भावले विजयी भएँ । ” थापाले प्यूठानमा नयाँ जग तयार गरेको बताए ।

उनले भने,“ प्यूठानमा एमाले आफैमा धेरै बलियो थिएन, गठबन्धनसँगको यस्तो प्रतिस्पर्धामा पनि चुनाव जितियो । यसमा पनि मत बढेको छ ।”

आफूले अब प्यूठानी जनताको सेवा गर्ने बताए ।

एमालेमा महासचिव शंकर पाेखरेलसहित अध्यक्ष केपी शर्मा ओली निकटका धेरै नेता पराजित भएका बेला थापाले चुनाव जितेका छन् ।

प्रतिनिधि सभा तर्फ एउटा निर्वाचन क्षेत्र रहेको प्यूठानमा थापाले ४१ हजार ११८ मत ल्याएर विजयी भए भने निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरिन् ।



प्रतिक्रिया दिनुहोस !