२० असार २०८१, बुधबार

राष्ट्रपतिद्धारा देशवासीलाई सम्बोधन : कुनै भावनामा नबगी सरकारलाई साथ दिन आग्रह

प्रकाशित मिति :  3 April, 2020 8:48 pm


काठमाडाैं, २१ चैत । 

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम,नियन्त्रण र उपचारमा सरकारले चालेको कदममा साथ दिन आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै सरकारलाई साथ दिन आग्रह गरेकी हुन् ।

नोवल कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विश्वव्यापी महामारीका सन्दर्भमा देशवासीका नाममा आज साँझ सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेकामा जोड दिएकी हुन् ।

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको भन्दै राष्ट्रपति भण्डारीले सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै कोरोना भाइरस सीमित रहेको र फैलन नपाएको उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सन्देशमा भनेकी छन्,‘आ-आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ ।’ नेपाली नागरिकलाई आ-आफ्नो ठाउँमा आवश्यक सतर्कतासहित सुरक्षित रहन आह्वान गर्दै राष्ट्रपति भन्डारीले कोरोनाविरुद्धको लडाइँलाई सफल पार्न योगदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्ध जुध्न विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त सहयोग र सहयोगको प्रस्तावका लागि सम्बद्ध पक्षलाई उहाँले धन्यवाद दिएकी छिन् । सन्देशमा उनले भनेकी छन्,‘पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ । यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पु¥याएको छ । यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ । यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणासमेत गरिसकेको छ ।’



प्रतिक्रिया दिनुहोस !