२० असार २०८१, बुधबार

स्वास्थ्य मन्त्रालयले कोरोनाबारे भन्यो,‘हामी दोस्रो चरणमा प्रवेश गर्यौं ’

प्रकाशित मिति :  4 April, 2020 5:03 pm


काठमाडौं, २२ चैत ।

सरकारले कोरोना भाइरसको संक्रमणको अवस्था दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । कैलालीमा स्थानीय महिलामा कोरोना संक्रमण देखिएपछि सरकारले ‘स्थिति दोस्रो चरणमा प्रवेश’ गरेको बताएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा भने,‘ नयाँ संक्रमित महिला एकजना संक्रमित परिवारको सदस्य हुनुहुन्छ । उहाँको ट्राभल्स हिष्ट्री छैन । यो स्थानीय संक्रमण हो अर्थात एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण प्रवेश गरेको अवस्था हो र यसले हामी दोस्रो चरणमा प्रवेश गरेको देखिन्छ ।’ प्रवक्ता देवकोटाले भनेको दोस्रो चरण अर्थात संवेदनशील चरणमा संक्रमण पुगेको हो ।

उनले संक्रमण फैलन नदिनका लागि अनिवार्य क्वरेन्टाइनमा बस्न उनले आग्रह गरे । उनले भने,‘विदेशबाट आएका सबै अनिवार्य क्वारेन्टाइनमा बस्नुहोला, यसलाई सबैले मनन गरौं परिवारमा सर्न नदिऔं । हेर्नुस आज हामी यो मोडमा पुगेका छौं ।’

मन्त्रालयका प्रवक्ताले नेपालमा एकैपटक तीन जनामा कोरोना भाइरस संक्रमण भएकोबारे पुष्टि गरे । संक्रमित हुँनेमा दुईजना भारतबाट आएका पुरुष हुन् भने एक जना स्थानीय महिला समेत संक्रमित भएकी छिन् । संक्रमित हुनेमा भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ बर्षीय र उत्तराखण्डबाट फर्किएका ४१ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । महिला भने यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरुषका आफन्त हुन् ।

यसअघि सबै बिदेशबाट आएका व्यक्तिमा संक्रमण भेटिएको थियो तर कैलालीमा पहिलो पटक स्थानीय महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यससँग एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पुष्टि भएको छ ।

प्रवक्ता देवकोटाले क्वारेन्टाइनको समय बढ्ने पनि स्पष्ट पारे । उनले भने,‘क्वारेन्टनमा १४ दिनपछि परीक्षण गर्दा फेरी पोजेटिभ रिपोर्ट आएको छ त्यसैले क्वारेन्टाइनमा थप बस्नुपर्छ तपाईंहरु अहिले क्वारेन्टाइनमा बस्नुस् । हामीपनि घरमै क्वारेन्टाइनमै बसेका छौं ।’

सरकारले माघ १० गते पहिलो पटक नेपालमा कोरना संक्रमित व्यक्ति भेटिएको पुष्टि गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गदैै चीनबाट फर्किएका विद्यार्थीमा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । यद्यपी उनी निको भइरसकेका छन् ।

चैत ९ गते काठमाण्डौंकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो । मन्त्रालयले पत्रकार सम्मेलन गरेर फ्रान्सबाट दोहा हुँदै नेपाल आएकी १९ बर्षीया युवतीमा संक्रमण भएको पुष्टि ग¥यो । अहिलेपनि उनको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

चैत १२ गते पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको तेस्रो व्यक्ति भेटिएको जानकारी गराए । कोरोना संक्रमित तेस्रो व्यक्ति धादिङका ३२ बर्षीय पुरुष थिए । उनको टेकु अस्पतालमा राखेर उपचार भइरहेको छ । उनी चैत ६ गते कतारबाट आएका थिए ।

चैत १४ गते सरकारले चौथो व्यक्तिमा कोरना संक्रमण भएको पुष्टि ग¥यो । उनको प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयलय जानकारी दियो । संक्रमित ३४ बर्षीय पुरुषको अवस्था सामान्य रहेको मन्त्रालयको भनाई छ । आज संक्रमणको पुष्टि भएकी महिला यिनका आफन्त हुन् ।

चैत १५ गते बेल्जियमबाट अएकी बागलुङकी एक युवतीमा कोरोनाको संक्रमण रहेका देखियो । मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा बगलुङकी २२ बर्षीय युवतीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जानकारी गराएर । ति युवतीको अहिले बागलुङ अस्पतालमै उपचार भइरहेको छ र अवस्था सुधारउन्मुख रहेको मन्त्रालयले जनाएको छ । उनी संक्रमण पुष्टि भएकी पाँचौ व्यक्ति हुन् ।

चैत २० गते पत्रकार सम्मेलन गरेर सरकारले छैठौं नयाँ संक्रमित भेटिएको जानकारी दियो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बागलुङ्की ६५ बर्षीया बृद्धमा कोरोनाको संक्रमण भेटिएको पुष्टि गरे । उनीपनि कोरोना कतार एअरवेजबाट फर्किएकी थिईन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले नयाँ भेटिएका तीन जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको जानकारी दिए । अहिले उपचार भइरहेको सबैको स्वास्थ्य अवस्था राम्रो रहेको उनको भनाई छ । संक्रमितको संख्या ९ पुगेपनि एकजना निको भएर घर फर्किसकेका छन् भने ८ जनाको उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !