दिसाजन्य फोहोरबाट मोहाेर कमाउदैँ वालिङ नगरपालिका
काठमाडौं । नेपालमा स्थानीय तहको फोहोर व्यवस्थापनको विषयलाई लिएर बेला बखत चौर्तफि चर्चा हुदैँ आएको छ ।
अझै विशेष गरि काठमाडौंको फोहोर व्यवस्थापन भने ‘राज्यकै टाउको दुखाइको विषय’ भन्दा पनि फरक नपर्ला तर यो फोहोर व्यवस्थापनलाई प्रथामिकतामा राखेर बहस गरि रहँदा दिसाजन्य फोहोर व्यवस्थापन प्राथमिकतामा परेकाे देखिदैन ।
देशको संघिय राजधानीलाई नै नियालेर हेर्ने हो भने शौचालयको पाइप खोलासँग जोडेर बाग्मती देखि काठमाडौंका विभिन्र नदी नालाहरु दिसाजन्य फोहोरले ढाकेको छ ।
हैजा, पोलियो, टाइफाइ, आउँ, झाडापखला, हेपाटाइटिस ए र ई, जुका (जनावारबाट मानिसमा सर्ने) जस्ता रोगहरु यस्तै कारणले फैलिएको स्वस्थ्य मन्त्रालयको तथ्याकले देखाउँछ ।
यस्ता रोगबाट नागरिकलाई बचाउनको लागि सरकारले प्रत्येक वर्ष २ अर्बको रूपैँकाे खोप खरिद गर्दै आएको छ। व्यक्तिगत खर्चलाई समेत जोड्दा याे रकक बढेर ६ देखि ८ अर्बकाे हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सबैकाे टाउकाे दुखाइकाे विषाय बन्ने दिसाजन्य फोहोर र ठोस फोहर व्यवस्थापनमा वालिङ नगरपालिका राज्यबाट नै उत्कृट भएर विभिन्र सम्मानहरु ग्रहण गर्दै आएको छ ।
वालिङ नगरपालिका निवर्तमान नगरप्रमुख दिलिप प्रताप खाँणले आफ्नो कार्यकालमा दिसाजन्य फोहोर व्यवस्थापन गर्न आफूले विभिन्र निकायहरु सँग सहकार्य गरेर यसमा ठूलो भूमिका खेलेको बताउँदै आएका छन् ।
वालिङमा कसरी सम्भव भयो दिसाजन्य फोहोर व्यवस्थापन ?
वालिङ नगरपालिकाले राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, सिटी नेट, एसप्याक, यूएनडीपी, बिलगेट्स एन्ड मेलिन्दा फाउन्डेसनको सहयोगमा एकीकृत फोहोर व्यवस्थापन कार्यक्रम अन्तर्गत कारखाना निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
उक्त फोहोरबाट सरुवा रोग तिव्र गतिमा फैल्ने भएकाले नगरपालिकाले पनि यसको व्यवस्थापनको लागि तिव्र गतिमा काम गर्दा सफल भएको निर्वतमान नगरप्रमुख खाँणले बताए । उनले भने, “म त्यसबेला नगरपालिका संघमा थिए । पाँच वटा नगरपालिकालाई छान्दा हाम्रो वालिङ नगरपालिका पनि परेको थियो । हामीले त्यसमा काम गर्यौ तर चार वटा पालिकाले त्यो कार्य गर्न खोजेनन् ।’’
थोरै लगानी, आम्दानी मनग्य
वालिङ नगरपालिकामा पनि कुनै बेला दिसाजन्य फोहोर व्यवस्थापन टाउको दुखाइको विषय थियो । तर पालिकाको प्रयासले गर्दा फोहोर व्यवस्थापनमा राम्रो फड्को मार्न सफल भयो ।
घरघरमा रहेका सेफ्टी ट्यांकी भरिएपछि बाहिरी खुला ठाउँमा लगेर आफूखुसी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित भएकाले त्यसको व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।
पालिकाले ४ हजार रुपैयाँ लिएर घरको सेफ्टी ट्यांकी सफा गर्दै आएको छ । दिसाजन्य लेदो मेसिनमा राखेर पानी र लेदो छुट्याइन्छ ।
पानी बालुवामा सोसिएपछि बाँकी लेदोलाई प्लास्टिकमा प्याकिङ गरेर बिक्री गरिने नगरप्रमुख कृष्ण खाँणाले बताए । उनका अनुसार दिसाजन्य लेदो बनाउने प्रशाेधन केन्द्र बनाउदा डेढ लाख रुपैयाँ मात्रै खर्च भएको थियाे ।
वालिङ नगरपालिकाले अहिले फोहोरबाट वार्षिक २५ लाख रुपैयाँ आम्दानी गरेको नगरप्रमुख खाँणाले बताए । “व्यवस्थापन राम्रो गर्न सके फोहोर समस्या होइन आम्दानी पनि बन्दो रहेछ,’’ उनले भने, “यसमा थप सुधार गर्दै अघि बढ्छौं ।’ निवर्तमान नगरप्रमुख खाँणाका अनुसार पहिला वालिङमा पनि ट्याक्कीबाट दिसा निकालेर खोलामा लगेर विर्सजन गर्ने गरिन्थ्यो ।
फोहोरबाट मोहर कमाउन नयाँ बाटो अपनाउँदै
देशकै पहिलो फोहोर व्यवस्थापन प्लान्ट स्थापना गरेको वालिङ नगरपालिकाले अहिले वार्षिक २५ लाख अम्दानी गर्दै आएको नगरप्रमुख कृष्ण खाँणले बताउँछन् । वालिङ नगरपालिकाले वडा नम्बर १ अर्मादी आँधिखोला किनारको बगरमा सरसफाइ केन्द्रको स्थापन गरेको छ ।
नगरपालिकाले पूर्णामृत भवानी माध्यमिक विद्यालयको ३२ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर फोहोर व्यवस्थापन केन्द्र निर्माण गरेको थियो ।
उक्त फोहोरमैला व्यवस्थापन केन्द्रमा दैनिक ४ जना कुचिकार र ५ जना कर्मचारीले फोहोर वर्गीकरण गर्दै आएका छन् । तर पछिल्लो समय पालिकाले नयाँ नयाँ प्रविधी अपनाएर कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने र आर्को तर्फ त्यै फोहोरबाट किरा उत्पादन गरेर कुखुराको दानाको रुपमा किसानहरुलाई बेच्न थालेको नगरप्रमुख खाँणले बताए ।
उदाहरणीय कार्यले राष्ट्रबाट सम्मानित
वालिङ नगरपालिकाको फोहोर व्यवस्थापन बारे अहिले धेरै स्थानीय तहहरूले चासाे दिएका छन् । पालिकाले गरेको उत्कृष्ट फोहोर व्यवस्थापनलाइ राष्ट्रले नै सम्मान गरेकाे छ ।
देशभरका २ सय १७ नगरपालिकामध्ये वालिङ सर्वोत्कृष्ट नगरका रूपमा पुरस्कृत पनि भइसकेको छ । संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा सर्वोत्कृष्ट सफा नगरका रूपमा वालिङलाई पुरस्कृत गरेको थियो ।