७ मंसिर २०८१, शुक्रबार

आलेख: ‘कोभिड १९’– चीनबाट के सिक्ने ?, प्रा.डा.राजीव झाको अनुभव

प्रकाशित मिति :  4 April, 2020 11:18 pm


——आलेख——

शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर कुर्यौँ । उहाँले कोरोनाकै विषयमा अनुसन्धान गर्न चीनको केन्द्र र प्रान्तीय सरकारबाट ८ लाख आरएमबी  (चिनियाँ पैसा) अनुदान पाउनुभएको रहेछ । एक करोड ३२ लाखभन्दा बढी रुपैयाँ हुने सो रकम प्राप्त गरेको खबर भर्खरै चिनियाँ साथीहरुबाट पाएका प्राडा.झा पनि खुसी देखिनुहुन्थ्यो ।

“सरी है, चीनबाट साथीहरुको निरन्तर फोन आएकाले तपाईंहरुलाई कुराएँ” प्रा.डा. झा कुराकानीलाई अब तयार हुनुभयो । हामीलाई पनि जिज्ञासा भयो कोरोना विषयमा नै जान्ने । किनभने यतिखेर संसारका मानिसले सबैभन्दा धेरै खोजी गरेको र सुन्न चाहेको विषय कोरोनाबाट कसरी बच्ने भन्ने नै होला सायद । हामीले पनि यहीँबाट वार्ता शुरु गर्याैं– तपाईंले प्राप्त गर्नुभएको अनुदान कस्तो हो ? यसबाट के गर्ने हो ?

औषधिलाई कोरोनाको थेरापीका रुपमा कसरी प्रयोग गर्ने भन्ने विषयको अनुसन्धान रहेछ । आफ्नो मोबाइल फोन सेटमा अनुसन्धानसार (एब्स्ट्र्याक्ट) देखाउँदै भन्नुभयो– यो एउटा ‘सिजनल ग्र्यान्ट’ हो र यतिखेर चीनले यस्ता अनुदानहरुलाई कोरोनाको विषयमा विशेष अनुसन्धान गर्नेगरी केन्द्रित गरेका छन् । मैले पनि कोरोना भाइरसका लागि औषधिलाई कसरी थेरापीमा प्रयोग गर्ने भन्ने विषयमा अनुसन्धान गर्ने हो, यो वर्षदिनमा सक्नुपर्छ ।” उक्त अनुदानको शीर्षक रहेछ– ‘सेन्ट्रल गभर्मेन्ट रिसर्च फन्ड फर कोरोना’ रहेछ । केन्द्र सरकारले आठ र सियान प्रान्तीय सरकारले आठ लाख आरएमबी उहाँलाई प्रदान गरिएको रहेछ । यो अनुसन्धानबाट पनि कोरोना भाइरसको नियन्त्रणमा प्रयोग हुने एक प्रकारको औषधिकै विकासमा सहयोग पुग्दछ ।

तीन महिना पहिलेको ‘कोभिड–१९’ को मुहान मानिने उहान यतिखेर भने सामान्य जीवनमा फर्किसकेको छ । मेट्रो रेल तथा बस चल्न शुरु गरेका छन् । मानिसहरु सामान्य अवस्थामा फर्केका छन् । कलकारखाना, होटल, रेष्टुरेन्ट नियमित जस्तै भइसकेका छन् । चिनियाँले यति चाँडै उहानलाई यस्तो सामान्य अवस्थामा ल्याइसकेको छ । अझ आफ्ना केन्द्र तथा प्रान्तीय सरकारका अनुसन्धान कोषहरुलाई यति चाँडै ‘कोरोना अनुसन्धान कोष’ मा परिणत गरेर अनुसन्धानदाता र वैज्ञानिकलाई अनुदान दिन थालिसकेकोले आगामी दिनमा चिनियाँहरु कोरोनाको विषयको अनुसन्धानलाई कसरी अघि बढाउलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ । यसबाट हामीले पनि केही सिक्न सकिएला भनेर उहाँले प्राप्त गरेको यो व्यक्तिगत अनुसन्धानवृत्तिको विषयमा बताइदिन अनुरोध गर्यौं र यहाँ प्रस्तुत गरेका हौँ ।

तीन हजारभन्दा बढी नागरिकको ज्यान लिएको कोरोना भाइरस घरेलु रुपमा नियन्त्रणमा लिएपछि चीन यतिखेर संसारलाई सहयोग गर्दैछ । उहान सुस्ताएर दुई महिना पछि उठेपछि कोरोनाको इपिसेन्टर अहिले अमेरिका बनेको छ । यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले अमेरिकामा मात्र सात हजारभन्दा बढीको ज्यान लिइसकेको छ र दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । स्पेन, इटाली चरम सङ्कटमा छन् । छिमेकी देश भारतमा समेत कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

प्राध्यापक डा राजिवकुमार झा चीनको सियानमा बस्नुहुन्छ । बाइस वर्षदेखि चीनमा रहनुभएका उहाँ मेडिकल प्राध्यापक, चिकित्सक र युवा वैज्ञानिक पनि हुनुहुन्छ । कोरोना भाइरस विश्वव्यापी रुपमा भयावह बन्दै गएको सन्दर्भमा चीनको सियान विश्वविद्यालयका अनुसन्धानदाता प्राध्यापक झालाई पछ्याउँदै हामी पनि उहाँको निवास भैँसेपाटी पुगेका थियौँ ।

कोरोनाको विश्वव्यापी महामारीको पछिल्लो अपडेट लिइरहनुभएका प्राध्यापक झालाई अर्काे फोन आयो उहाँका पिएचडी विद्यार्थीको र भन्दै थिए– पछिल्ला दिन चीनमा नयाँ सङ्क्रमित थपिएका छैनन्, हिजो त एकजनाको पनि मृत्यु भएन । उहाँको निर्देशनमा केही चिनियाँ र अन्य देशका शोधार्थीले मेडिकल विषयमा विद्यावारिधि गरिरहेका छन् । त्यसैबेला उनले शनिबार चीनले कोरोनाबाट मृत्यु भएका चिनियाँ नागरिकको सम्झनामा श्रद्धाञ्जलि सभा गर्न लागेको र त्यसलाई राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोकको दिनका रुपमा पनि घोषणा गरेको जानकारी गराए ।

हाम्रो उद्देश्य भने प्राडा झालाई चीनमा भएको कोरोनाको नियन्त्रण, त्यसबाट नेपालले सिक्नुपर्ने पाठ, विश्वव्यापी रुपमा त्यसले पार्ने प्रभाव र कोरोनाबाट बच्ने उपायका बारेमा उहाँको अनुभवमा केन्द्रित रहेर कुरा गर्नुथियो । विगत करिब २२ वर्षदेखि पढ्ने र पढाउने काममा चीनमा नै व्यस्त झा चाइना नेपाल मेडिकल रिसर्च सेन्टरका निर्देशकसमेत हुनुहुन्छ । चीन सरकारले यो मेडिकल रिसर्च सेन्टर उहाँकै नाममा स्थापना गरिदिएको हो । सन् २०१५ मा चीन सरकारले चीनमा बस्ने विश्वका १०० जना विशिष्ट क्षमता भएका विदेशी नागरिकको सूचीमा समेत पर्नुभएका झाले चीनमा कोरोनाको उत्पत्तिदेखि अब लगभग कोरोना फ्रि चीनको घोषणाको नजिक पुगेको चीनको समग्र अवस्था नियालीरहनुभएको छ ।

सन् २०१९ बिदा हुँदै थियो । पश्चिमाहरु नयाँ वर्षको स्वागतको तयारीमा थिए । कोही क्रिस्मस मनाउँदै थिए त कोही लामो विदा लिएर विदेश घुम्ने तयारीमा थिए । डिसेम्बरको अन्तिम साता चीनबाट खबर आयो निमोनियाको लक्षणसँग मिल्दो जुल्दो खालको नयाँ रोग देखिएको छ ।
डिसेम्बरको २६ र २७ तिर उहान शहरमा २७ जना यस्ता बिरामी आए । उहानको स्वास्थ्य विभागले सार्वजनिक सूचना नै दियो । त्यसमा भनिएको थियो– सार्सको लक्षणसँग मिल्दो जुल्दो खालका बिरामी आए, त्यसमध्ये दुई चार जना बाहेक अरु सबै निको भएर घर फर्के । एक हप्ता पछि त्यस्ता बिरामी ४४ पुग्यो । अर्थात् सन् २०२० जनवरीको पहिलो साता अघिल्लो साताको भन्दा झण्डै दोब्बर बिरामी सोही प्रकृतिका देखिए । जनवरीको २० सम्म कुनै नयाँ बिरामी देखिएनन् । त्यसलगत्तै चैतको खरमा आगो लागेजस्तै गरी उहान र त्यसबाहिर पनि यो भाइरस फैलिँदै गयो ।

प्रा.डा.झा त्यस समयको चीनको अनुभव सुनाउनुहुन्छ– चिनियाँ नागरिक वसन्त पर्वलाई धुमधाम मनाउने तयारीमा थिए त्यसैले धेरै स्वदेश र विदेशबाट घर फर्कदै थिए । चीनको द्रूतगतिको मेट्रो रेल भरीभराऊ थियो । हवाई जहाजका सबै सिट भरिएका थिए । नियमित भन्दा धेरै बढी उडान भइरहेका थिए । विश्वविद्यालय, विद्यालयहरु बन्द थिए । मानिसको चाप बढ्ने र आवत जावत पनि उस्तै हुने समयमा उहानमा विस्फोट भयो । जनवरी २३ मा देखिएको महामारीको धक्काले चिनियाँको नयाँ वर्षलाई समेत अर्को साल सारिदियो । उता पश्चिमाहरु भने कोरोनालाई सुरुमा उहान र पछि चिनियाँ भाइरसको नाम दिन थालेका थिए । आजन त्यही भाइरस संसारका २०३ देशमा पुगेको छ र अहिलेसम्म ५९ हजार नागरिकको ज्यान लिइसकेको छ ।

प्रा.डा झा भन्नुहुन्छ– “चिनियाँ सरकारले यो भाइरसको फैलावटको दर निकै खतरनाक हुने आँकलन गर्यो र उहानलाई इपीसेन्टर मानेर उहान, सियान, बेइजिङ मात्रै नभई धेरै प्रान्तहरुमा लकडाउन गर्ने घोषणा गर्यो । यो निर्णयलाई कतिपयले अलोकप्रिय भने पनि वाध्यकारी निर्णय थियो । नेपालको सिमाना जोडिएको तिब्बतमा समेत एक विरामी देखिएको थियो । त्यसपछि त केही देशले दूतावासका कर्मचारी लैजान चार्टर उडान समेत गरे । डिसेम्बर २७ मा सिफुड बजारबाट फैलिएको कोरोनालाई जनवरीको तेस्रो सातामा मात्रै विश्व स्वास्थ्य संगठनले ‘कोभिड १९’ नाम दिएको थियो ।”

वास्तवमा चीनकै मोडल अपनाएको भए अरु देशमा अहिलेको रुप नलिने उहाँको अनुभव छ । बाहिरका देशहरुमा असावधानी र अराकजताका कारण स्पेन, इटाली र अहिले आएर अमेरिकामा यो अवस्था आयो । डा.झालाई हामीले बीचैमा सोध्यौँ– कसरी सफल भयो चीन कोरोना माथिको विजय प्राप्त गर्न ? “मानिस मानिसबीचको सम्पर्कको कडी तोड्न चीनले गरेको प्रयास नै सबैभन्दा महत्वपूर्ण विषय थियो । लकडाउन नै त्यसको वास्तविक कारण बन्यो” डा झाले भन्नुभयो “रातारात अस्पताल बने, हजारौँ स्वास्थ्यकर्मी उहान ओरालियो । घरघरमा गएर स्वास्थ्यकर्मीले नमूना परिक्षण गर्दै अस्पताल पठाउन थाले, मानिसहरु शङ्कै नलाग्दा पनि परीक्षण गर्न आए, घरमा बस्नेहरु पनि आफै बडो अनुशासित क्वारेन्टाइनमा बसे, यस्ता धेरै कारणहरु छन् जसले चीनलाई यतिचाँडै सफल बनायो ।”

उहाँको अनुभवले यो बताउँछ कि– चीनको प्रविधि, जनशक्ति र सार्सको समयमा सिकेको अनुभवले पनि उनीहरु आफैमा ढुक्क थिए । महामारीसँग जुध्ने नेतृत्वको दृढ इच्छा शक्ति, उपलब्ध भौतिक सामग्री र नागरिकको समर्थन नै सफलताको कारण हो ।

चीनको उहानमा लकडाउन गर्दा पश्चिमाहरुले मानवअधिकारको विषय उठाएको भन्दै डा.झा भन्नुहुन्छ “वास्तवमा त्यो त मानअवधिकार भन्दा पनि जनताको जीवन रक्षा गर्नका लागि लिइएको कदम थियो नि होइन ? हेर्नुहोस् हाम्रो नेपालीमा पनि बडो वैज्ञानिक र पुरानो भनाइ छ नि महामारीमा ज्यान जोगाउनु भन्ने । आखिर महिनादिन भन्दा बढी नै लकडाउन भयो त्यसैले त थोरै क्षतिमै रोगमाथि विजय नै प्राप्त भयो नि होइन ? नत्र भन्नुस त के हालत हुन्थ्यो होला आज चीनको ? अमेरिकाले पनि यही गर्नुपथ्र्याे । खुल्ला समाजको परिचायक बन्न खोजेर मात्र हुँदैन, जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो भन्छु मत ।

अहिले युरोपेली देशका नागरिकको हालत बडो भयावह बन्दै गएको देखिन्छ । किनकी अवस्था यस्तो भयो कि महामारी दिनदिनै फैलिँदैछ तर नियन्त्रण गर्ने छेउटुप्पो कता हो उनीहरु भेउ नै पाएका छैनन् । डाक्टर, नर्सले झण्डै हार खानेहुन् कि भन्ने खतरा देखिँदैछ । अब चीनले नै यस्तो अवस्थाको नियन्त्रणका लागि सहयोग गर्नुपर्छ । एयर चाइनको जहाजलाई स्वागत गर्न सर्वियाका राष्ट्रपति विमानस्थल नै पुग्नुपरेको दृश्य टेलिभिजनका पर्दामा देखिएका छन् । किनकी आफ्ना छिमेकीले साथ दिएपछि सर्वियाका राष्ट्रपतिले भावुक शैलीमा लेखेको पत्र विश्वभरका सञ्चारमाध्यममा आएको उहाँ बताउनुहुन्छ ।

“हाल नेपालमा लकडाउन भन्दा प्रभावकारी उपाय अर्काे केही छैन भन्नुहुन्छ उहाँ । सरकारले भनेको मानौँ, लकडाउनका घरमै बसाँै, सामाजिक दूरी कायम गरौँ, भीडभाडबाट जोगिआँै यो भन्दा राम्रो उपाय अरु केही छैन ।” झाको सुझाव छ । कम्तीमा पनि २८ दिन लकडाउन गर्न उहाँले सरकारलाई सुझाव दिनुभयो । नेपालमा हालसम्म छ जनामा सङ्क्रमण देखिएको छ । यो ठूलो सङ्ख्या नभएपनि खतराको घण्टी बजेको अवस्था हो भनेर हामीले बुझ्नुपर्छ । चीन वा भारतले अवलम्बन गरेको मोडललाई अवलम्बन गरेर नागरिक आफै सचेत भए आफ्नो समाज र देशलाई जोगाउन सकिने उहाँको भनाइ छ ।

प्रा.डा झा सरकारले केही अस्पतालाई तत्कालै डेडिकेटेड अस्पतालका रुपमा घोषणा गर्नुपर्ने बताउनुहुन्छ । सरकारले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालाई डेडिकेटेड अस्पताल बनाएको छ । उहाँको सुझाव त बानेश्वरको सिभिल अस्पताललाई पनि एक डेडिकेटेड अस्पतालका रुपमा बनाउनुपर्ने भन्ने छ । भन्नुहुन्छ– यो सिभिल अस्पतालमा बढीमा १०० बेड छुट्याएर डेडिकेटेड अस्पतालका रुपमा घोषणा गरियोस् । किनभने यो सफा छ र खुल्ला ठाउँ पनि छ । यो चिनियाँको सहयोगमा बनेका अस्पताल हो र भोलि पनि सहयोग चीनबाट आउँदा यसमा आउँछ । अर्काे कुरा भोलि नेपालमा यो महामारी भित्रियो र चिनियाँ सहयोग नै चाहियो भने पनि उनीहरुले आफ्नो मापदण्डअनुसार बनाएको यस अस्पतालमा आएर उनीहरुले काम गर्नेछन्, चीनलाई सजिलो पनि हुन्छ ।

“सबैभन्दा महत्वपूर्ण विषय भनेको हामी महामारीसँग जुध्नसक्छौँ भन्ने आत्मविश्वास जरुरी छ । चिकित्सक, डाक्टर, नर्सलाई पनि मानसिक रुपमा प्रशिक्षित गर्नु आवश्यक छ । उनीहरुलाई साधन स्रोत सम्पन्न बनाउनुपर्छ” डा झाले भन्नुभयो “बिरामीको उपचारमा लाग्नेलाई व्यक्तिगत सुरक्षादेखि सबै खालको प्रबन्ध गरौँ । तर सबैलाई एन ९५ मास्क नै चाहिन्छ भने जसरी प्रचार पनि नगरौँ ।”

सङ्क्रमणको आशङ्का लागेकालाई क्वारेन्टाइन वा आइसोलेशन राख्नुपर्ने, जुन कामको हाम्रोमा समेत सुरुआत भइसकेको छ । लकडाउन जारी नै छ । यस्तो बेलामा कोही कसैले पनि नकारात्मक प्रचारमा नगर्न उहाँको सुझाव छ । चीनमा जस्तै नागरिकको मनोबल बढाउने, मानसिक रुमपा सकारात्मक प्रभाव पार्ने खालको सूचना दिनु जरुरी छ । नागरिकको दैनिक आवश्यकता परिपूर्तिका लागि समेत विशेष ध्यान दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

क्वारेन्टाइनमा बसेका कोही पनि डराउनु नपर्ने झाको सुझाव छ । उहाँ भन्नुहुन्छ, “तर हाम्रोमा एक खालको त्रास पैदा गरिएको छ । मनोवैज्ञानिक त्रास नै सबैभन्दा घातक विषय हो । एक सय जनामा कोरोना लागि नै हाल्यो भने पनि ८० प्रतिशत आफै निको हुन्छन् । मृत्यु हुनेको सङ्ख्या त तीन प्रतिशत मात्रै रहेको देखिएको छ । सङ्क्रमित भएका व्यक्तिले अरुलाई नसारुन भनेर ध्यान दिनु जरुरी छ । रोगसँग लड्ने प्रतिरोधी क्षमता कम भएका मानिसलाई यसले सबैभन्दा बढी प्रभाव पारेको पाइएको छ । मलाई रोगले होइन, रोगलाई मैले जित्छु भन्ने मनोबल उच्च भएका जोसुकै नागरिक १४ दिनमा निको भइहाल्छन् ।”

कोरोना समूहको आठौँ संस्करणको भाइरस भएकाले कोभिड १९ सँग जुध्न आन्तरिक रुपमा मानव तयार नभएको पनि हुनसक्छ । किनकि, यो जनावर र मानिसमा भएको कमजोर कमजोर भाइरस मिलेर बनेको नयाँ ठिमाहा प्रजातिको भाइरस हो । त्यसकाकारण वृद्धवृद्धा, दीर्घरोगी तथा रोग प्रतिरोधी क्षमता कम भएका नागरिकलाई विशेष हेरचाहको जरुरी रहेको उहाँको भनाइ छ ।

“हाम्रो बसोबास पनि एकाध शहरमा बाहेक अन्यत्र फरक फरक नै छ । सामाजिक बनोटले नै समाजिक दूरी कायम गरेको छ । एउटालाई स¥यो भने धेरैलाई सर्दैन” डा झाको अनुभवमा ८० प्रतिशत कोरोना सङ्क्रमित सिटामोल नै खाएर पनि निको भएका छन् ।

मानिसहरुमा कुनै प्रकारको डरको अनुभव नै हुन दिएनन् चिनियाँले । यो सामान्य घटना हो भनेर अभ्यस्त बनाएको कारण सफल भएको सुनाउनुहुन्छ उहाँ । “हामीमा आजसम्म त्यस्तो देखिएको छैन । विदेशबाट देखिएका मानिसलाई घृणा गर्ने संस्कार विकसित भएको देखिएको छ । यस्तो संस्कार सतप्रतिसत गलत हो” डा झाले भन्नुभयो, “विदेशबाट आएका, सङ्क्रमति भएकालाई माया गरौँ, सकारात्मक सन्देश प्रवाह गरौँ, उनीहरुलाई आत्मिक रुपमा सबल बनाऔँ र प्रोत्साहन दिउँ ।”

लकडाउनको समयमा नागरिकलाई खाने, लाउने सबै प्रकारका दैनिक उपभोग्य वस्तु उपलब्ध हुन हाम्रोमा समस्या देखिएको छ । तर, चीनमा त्यस्ता सामग्री उपलब्ध गराउन विद्युतीय प्रणालीको सहारा लिइयो । “चिनियाँले मोबाइल एप नै बनाए । त्यसलाई सबैले आफ्नो मोबाइलमा राखे । सबैले आ– आफ्नो विवरण त्यसमा भरे । दैनिक रुपमा एपमा अपडेट नभए कोही कसैलाई पनि बाहिर जान दिइएन । हाम्रोमा त्यस्तो सम्भव नभएपनि सहज व्यवस्थापन गर्न के कस्ता उपाय अवलम्बन गर्नुपर्छ, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ । अनि पछिल्लो पटक विभिन्न प्रभावित देशमा नै जहाजहरु गएका छन् नि तिनीहरुलाई पनि नेपाल आएपछि क्वारेन्टाइनमा राख्नुपर्ने उहाँको सुझाव छ । जस्तो कि चीनबाट विद्यार्थी ल्याएको जहाजलाई हामीले १४ दिन राख्यौँ अहिले पनि उद्धार गरिएका नागरिकलाई विदेश छोडेर आउने नेपाली जहाजलाई त्यसैगरी राख्नुपर्छ ।”

चीनमा हप्तामा एकजना परिवारका सदस्यलाई घर बाहिर जान पाउने व्यवस्था गरिएको थियो । सोही कारण दैनिक उपभोग्य वस्तुको सामान आयातमा कुनै समस्या भएन । डा. झाको बुझाइमा “चीनमा मिडियाले पनि त्रास फैलाउनुभन्दा जनतालाई सजग गराउने समाचार नै बढी दिए । मनोवैज्ञानिक रुपमा कुनै समस्या भए के गर्ने भन्ने सूचना पनि त्यसमा उपलब्ध हुन्थ्यो । तर हाम्रोमा भने केही सञ्चारमाध्यमले त आतङ्कै फैलाएका हुन् कि भन्ने पो देख्छु मत । राष्ट्रिय विपत्तिमा पनि यस्तो हुन्छ र ?”

चीनले नेपाललाई सहयोग गर्छौं भनिरहेको प्रसङ्ग हामीले जोड्यौँ । यहाँस्थित चिनियाँ राजदूतले पनि सोही आशयको धारणा सार्वजनिक गर्दै आउनुभएको छ, हामीमा समस्या देखियो भने के साँच्चै चीनले हामीलाई सघाउँछ ?

उहाँले भन्नुभयो “नेपालमा समस्या थप जटिल बनेर देखियो भने चीनबाट हामीले पूर्ण सहयोग प्राप्त गर्छौँ, यसमा कुनै दुविधा नराख्दा हुन्छ ।” नेपाल सरकारले अनुरोध गरेको खण्डमा इटाली, स्पेन पुगेका चिनियाँ चिकित्सक डाक्टर र अन्य प्राविधिक जनशक्ति पाँच घण्टामा नेपाल आइपुग्ने उहाँको विश्वास छ ।
“मैले नै अध्यापन गराइरहेको सियान विश्वविद्यालयको टिम नै आवश्यक परेको खण्डमा आउन तयार छ । किनकी छिमेकी हुनुको नाताले पनि चिनियाँहरु नेपाललाई माया मात्रै होइनन् सद्भाव पनि राख्छन्”, डा झाले भन्नुभयो, “गत असोजमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछिको अवस्थामा म यत्ति दावा गर्नसक्छु ।”

नेपाल र चीनको बीचको मैत्री सम्बन्ध पनि पछिल्ला दिनमा झनै फैलिएको छ । राजनीतिक तहमा सम्बन्ध विस्तार भएको छ । नेकपाका अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई लेखिएको पत्र त्यसैको उदाहरण भएको झाको भनाइ छ । सरकारी तथा गैरसकारी तहमा पनि राम्रो भातृत्व रहेको उल्लेख गर्दै झाले भन्नुभयो “हामीले आग्रह मात्रै गर्याैं भने चीनबाट ठूलो सहयोग प्राप्त भइहाल्छ ।”

मैले अध्यापन गराउने विश्वविद्यालयले पनि जिज्ञासा राखेको राख्यै गरेको सुनाउँदै उहाँले भन्नुभयो “ चीनमा कोरोनाका बिरामी बढ्दै जाँदा हामीले गरेको साङ्केतिक सहयोगको उनीहरुले कुन शब्दमा प्रशंसा गरेका थिए ।” सङ्कटमा बोलीले पनि ठूलो काम गर्दो रहेछ, गोरखा भूकम्पका ती दिन सम्झदै डा झाले भन्नुभयो । चिनियाँले त्यो बेला देखाएको सहयोगले नेपाली नागरिकलाई ऋणी बनाएको छ ।

“कोरोनाको सक्रमण फैलन नपाओस् भनेर माइतीघर मण्डलामा चीनको समर्थनमा बालिएको मैनबत्ती र केही थान मास्क हामीले दिँदा उनीहरुको प्रतिक्रिया हेर्नुस्” प्राडा झा भन्नुहुन्छ “सङ्कटमा छिमेकी काम लाग्छ, सद्भावले मात्रै पनि ठूलो अर्थ राख्छ ।”

कोरोनाका कारण विश्व राजनीतिमा शक्तिको होडबाजीमा समेत नयाँ खालको संरचना देखिनसक्ने उहाँको बुझाई छ । यतिबेला कोरोनाले पैदा गरेको विश्व अर्थव्यवस्थाको सङ्कटको बाछिटा एकातिर छ भने अर्कोतिर मानव सभ्यतामाथिको आक्रमणले पैदा गरेको तरङ्गले केही न केही नयाँ स्वरुपलाई निम्तो गरेको छ जस्तो मलाई लाग्छ उहाँले बताउनुभयो ।

चीनले इटाली, स्पेन, सर्विया र अब अमेरिकालाई समेत उपलब्ध गराउनुपर्ने सहयोगले संसारभर नै चिनियाँहरुप्रति सकारात्मक धारणा थप विस्तारित हुने झाको बुझाई छ । “सङ्कटमा कसले कस्तो सहयोग गर्यो भन्ने विषय नै महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।

प्रस्तुतिः रमेश लम्साल/रासस



प्रतिक्रिया दिनुहोस !