११ कार्तिक २०८१, आइतबार

नवनिर्वाचित सांसदहरूको शपथ आज

प्रकाशित मिति :  22 December, 2022 7:44 am


काठमाडौं । संघीय संसद सचिवालयले आज बिहिबार नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथग्रहण गराउने भएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थिर संसद् भवनमा सपथ ग्रहण गराउने कार्यक्रम छ ।

नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् ।

शपथमा आउँदा राष्ट्रिय पोशाक वा आफ्नो संस्कृति झल्किने पोशाकमा आउन संसद सचिवालयले सांसदहरूलाई आग्रह गरेको छ । शपथ ग्रहणलगत्तै सांसदहरुलाई संसद्को लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो ।



प्रतिक्रिया दिनुहोस !