११ कार्तिक २०८१, आइतबार

लुम्बिनी प्रदेश सभा सचिवालय पनि बुटवलबाट देउखुरी सर्दै,पुस ११ गतेदेखि काम थाल्ने

प्रकाशित मिति :  24 December, 2022 12:29 pm


देउखुरी । लुम्बिनी प्रदेश सभाको सचिवालयले पुस ११ गतेदेखि देउखरीबाटै काम थाल्ने भएको छ ।

अहिलेसम्म मु्काम बुटवलबाट भइरहेको कार्य सम्पादन पुस ११ गतेदेखि स्थायी राजधानी देउखुरीबाट सुरु गर्न लागेको हो ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले सूचना जारी गर्दै पुस ११ गतेदेखि लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट कार्य सञ्चालन हुने’ जनाएका छन् ।

यसअघि नै लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय देउखुरी सरिसकेको छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत प्रदेश सभाको बैठक देउखुरीमा नै बस्ने तयारी गरिएको छ ।

२०७७ साल असोज २० गते प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो ।

राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३, अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ८ र ९ प्रदेश राजधानी क्षेत्र तोकिएको थियो । तर,पूर्वाधार तयार नभएको भन्दै अस्थायी राजधानी बुटवलबाटै कार्य सञ्चालन हुँदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस !