६ आश्विन २०८१, आइतबार

कमलामाई नगरपालिकालाई हस्तान्तरण गरियो कोरियाबाट ल्याइएका होल्स्टेन बाच्छी

प्रकाशित मिति :  24 December, 2022 9:03 pm


काठमाडौँ । जुनार उत्पादनमा परिचित रहेको सिन्धुली आउँदा दिनहरुमा डेरी उत्पादनमा पनि नमूना जिल्ला बन्रे विश्वस रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खरालले बताएका छन् । शनिबार नेपाल कृषि अनुसन्धान परिषद्ले हेफर इन्टरनेशनल नेपाल र हेफर इन्टरनेशनल कोरियाको सहयोगमा एसियान एयरलाइन्स, दक्षिण कोरियामार्फत सिन्धुलीको कमलामाई नगरपालिकालाई ८१ वटा कोरली बाच्छीहरू हस्तान्तरण कार्यक्रममा खरालले उक्त कुरा बताएका हुन् ।

शुद्ध होल्स्टेन रहेका त्यी बाच्छी डेढ वर्षपछि ब्याउन योग्य हुनेछन् र एउटा ब्याएको गाईले दैनिक ३० लिटर दूध दिने बताइएको छ । यसअन्तर्गत हेफर इन्टरनेशनल नेपाल र हेफर इन्टरनेशनल कोरियाले प्रविधिसहित कोरियाबाट होल्स्टेन जातका बाच्छाबाच्छी आयात गर्न सहजीकरण गर्दै आएका छन् । हेफर इन्टरनेशनल नेपालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै आएको छ ।

डिसेम्बर २२ मा ६ वटा साँढे र ३६ वटा बाच्छी नेपाल ल्याइएको थियो भने २३ डिसेम्बरमा २१ वटा कोरली बाच्छी ल्याइएको हो । अब २५ डिसेम्बर र २८ मा थप साँढे र बाच्छी नेपाल ल्याउने योजना रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह सचिव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । सञ्जलले नेपालको समग्र दुग्ध क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने यस अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग गर्ने सम्पूर्ण निकायलाई आभार समेत व्यक्त गरेका थिए ।

यसरी भित्र्याइएका उच्च उत्पादन क्षमता भएका पशुहरूको सही सदुपयोगका लागि सम्बन्धित स्थानीय तह, प्रदेश र संघीय सरकारका निकायहरूको समन्वय र सहकार्य आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

बुल मदर्सका रूपमा देशका विभिन्न ठाउँमा राखिनेछन् बाच्चाबाच्छी नेपाल सरकारलाई वस्तुगत सहायतामा प्राप्त भएका पशुहरूमध्ये ७ वटा कोरली बाच्छीहरू राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम चितवनमा, ४ वटा गाई आनुवांशिक स्रोत केन्द्र जिरी र ९ वटा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा राखिनेछ । साँढेहरू कृत्रिम गर्भाधानका लागि वीर्य उत्पादन गर्न राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरा र लहानमा राखिनेछ । यसरी पालिने कोरली बाच्छीहरू दूध उत्पादन र उच्च क्षमताका बाच्छाबाच्छी उत्पादन प्रयोजनका लागि बुल मदर्सका रूपमा रहने मन्त्रालयले जनाएको छ ।

कोरली बाच्छीहरू हस्तान्तरण गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले आफूहरुले गरेको सुरुवातले राम्रो परिणाम दिने बताएका छन् । उनले भने, “हामीले पहिला जुनारदेखि अन्य कृषिका उपजहरु .सिन्धुलीबाट ल्याउने गर्थौ । अब आउँदा दिनहरुमा हामीले दुग्ध उत्पादनलाई वृद्धि गरेर दुग्ध क्षेत्रमा देशको मागलाई धान्रे प्रयास गर्ने छौँ ।’’



प्रतिक्रिया दिनुहोस !