११ कार्तिक २०८१, आइतबार

आफ्नो नागरिकता र पासपोर्ट अनुसन्धानमा हस्तक्षेप नगर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

प्रकाशित मिति :  26 December, 2022 6:12 pm


काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले क्याबिनेटभित्र पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले सोमबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीमाझ यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले जनताको पिरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याबिनेटमा पनि हुन्छ कि भनेर प्रतिपक्षको भूमिका निर्वाह गर्नेगरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको उल्लेख गरे ।

विगतमा आफूहरूले जनताको पक्षमा खबरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसदमा गएर पनि निरन्तरता दिने उनको भनाइ थियो ।

उपप्रधानमन्त्री लामिछानेले जनताको पक्षमा आफूहरूले गरेको वाचा पूरा गर्ने गरी केही दिनमै सत्तारुढ दलहररूको तर्फबाट सामूहिक प्रतिवद्धता सार्वजनिक गर्ने घोषणा समेत गरे । उनले आफूहरू मन्त्री पदका लागि सरकारका नआएको पनि पटकपटक दोहोराए ।

उपप्रधानमन्त्री लामिछानेले भने,“हामी योभन्दा अघि पनि खबरदारी गर्ने काममा नै थियौं । सत्ताभित्र बसेर पनि संसदमा पनि, क्याबिनेट भित्र पनि एउटा प्रतिपक्षको आवश्यक्ता पर्दछ । त्यहाँ भएका साथीहरूबाट पनि कहीँकतै आम जनताको पीरमर्का नबुझ्ने अथवा त्यहाँ कुनै गलत काम हुन्छ कि भनेर त्यहाँ पनि प्रतिपक्षको भूमिका रहन्छ । हाम्रो भूमिका त्यहाँभित्र पनि एउटा प्रतिपक्षको भूमिका हुन्छ ।”

आफूले सबै दलका शीर्षस्थ नेताज्यूहरूसँग कन्फर्म गरेर मात्रै हाम्रो दल सरकारमा सहभागी भएको दाबी गरे ।

उपप्रधानमन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

स्वतन्त्र भएर सो विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उनको भनाइ थियो ।

यसअघि उपप्रधानमन्त्री लामिछानेलाई गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह लगायतका कर्मचारीहरूले मन्त्रालयमा स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !