केपी ओलीको संयोजकत्वमा ५ दिन भित्र न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने सहमति
काठमाडौं । सातदलीय गठवन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पाँच दिनभित्र बनाउने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले सत्ता साझेदार सात दलबाट एक एक जना प्रतिनिधि रहने गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति बनाउने भएको छ ।
उपप्रधामन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार ओली नेतृत्वको संयन्त्रले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने सहमति पनि भएको छ ।
उनले भने, ‘हामीले केका लागि सरकार बनायौँ भनेर देखाउका लागि साझा कार्यक्रम ल्याउन लागेका छौँ । त्यसका लागि सबै दलबाट एकरएक जना प्रतिनिधि रहन्छन् । त्यसले साझा कार्यक्रमको मस्यौदा तय गर्नका लागि अब निरन्तर बैठक बस्छ ।’
उनले राप्रपा पनि सरकारमा जानका लागि लचिलो रहेको बताए । न्यूनतम साझा कार्यक्रममा राप्रपाको मागसमेत समेटिने रविले जिकिर गरे ।
मन्त्रिपरिषद् विस्तारका लागि व्यापक छलफल भएपनि अहिल्यै टुंगो लागेको छैन गृहमन्त्री लामिछानेले भने गठबन्धन दलहरूबीच प्रदेशसम्म प्याकेजमै सहमति हुने छ ।
आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र लामिछाने सहभागी थिए ।