४ आश्विन २०८१, शुक्रबार

रुकुम पूर्वमा एउटापनि थर्मल गन छैन, प्रदेश सरकारले पठाएको पनि बिग्रेको पर्यो

प्रकाशित मिति :  6 April, 2020 4:00 pm


रुकुम पूर्व, २४ चैत ।

रुकुम पूर्वमा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गर्ने गरेका छन् ।

सरकारले लकडाउन घोषणा गरेको दुईसाता बित्दासमेत जिल्लामा एउटा पनि थर्मल गन नपुगेपछि बिरामीको जाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

हाल जिल्लामा भारतबाट भित्रिनेको संख्या धेरै भएकाले कोरोनाको जोखिम उच्च रहेकाले स्वास्थ्यकर्मी पनि त्रसित छन् ।

यस्तो अवस्थामा ज्वरो नाप्ने थर्मल गन समेत नभएपछि लक्षण देखिएका आधारमा बिरामीको उपचार गर्ने गरिएको जिल्ला अस्पताल रुकुम (पूर्व) का डा. पूर्णबहादुर पुनले बताए ।

‘विदेशबाट आएकाहरुलाई जाँच गर्न थर्मल गन हामीसँग छैन, पहिले आफू सुरक्षित भयौँ भने मात्र अरुलाई सुरक्षित राख्न सक्छौँ’, डा. पुनले भने,‘ आवश्यक सामग्री अभावकै कारण बिरामीलाई लक्षणको आधारमा सल्लाह सुझाव दिने गरेका छौँ ।’ हालसम्म जिल्लामा कोरोनासँग मिल्ने लक्षण भएको कुनै पनि बिरामी नभेटिएको उनको भनाई छ ।

सरकारले लकडाउन घोषणा गरेको पहिलो साता प्रदेश सरकारले जिल्लामा एउटा थर्मल गन पठाए पनि काम नगरेको जिल्ला अस्पतालले जनाएको छ ।

प्रदेश सरकारले पठाएको एचटीसी एमटीफो कम्पनीको इन्फ्रारेड थर्मामिटर अहिले त्यत्तिकै थन्किएको डा पुनले बताउनुभयो । उनले भने, ‘उक्त थर्मामिटरले मानिसको ज्वरो चेक गर्दा एउटै व्यक्तिको फरकफरक तापक्रम देखाउने गर्छ ।’

विभिन्न ठाउँमा राम्रो खालको इन्फ्रारेड थर्मामिटरको माग गर्दा कतैबाट पनि उपलब्ध हुन नसकेको उनको भनाई छ ।

जिल्लाका विभिन्न ठाउँमा राखिएका हेल्थ डेस्कमा पनि आवश्यक सामग्रीको अभाव देखिएको छ ।

हेल्थ डेस्कमा संघ, प्रदेश र स्थानीय सरकारले पिपिई उपलब्ध गराए पनि मास्क, सेनिटाइजरलगायत सामग्री अभावका कारण जोखिम मोलेर बिरामी जाँच गर्नुपरेको पुथाउत्तरगंगा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीले बताए ।

कोरोना त्रासकै कारण स्वास्थ्यकर्मीले बिरामीलाई लक्षण सोधेर सल्लाहसुझाव दिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !