६ आश्विन २०८१, आइतबार

भीरकोटका किसानले पाएनन् आलुको क्षतिपूर्ति, नगरप्रमुख भन्छन्, ‘जिल्ला प्रशासनले निवदेन हराइदियो’

प्रकाशित मिति :  30 December, 2022 4:41 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाका किसानले एक वर्ष बितिसक्दा समेत आलुको क्षतिपूर्ति पाउन सकेका छैनन् ।

२०७८ साल वैशाख महिनामा नगरपालिकाले ढुङ्गाना कृषि फर्मद्वारा सञ्चालित श्याम ढुङ्गनाको शीत भण्डारमा नगरपालिकाको अनुरोधमा प्रति घर २५ देखि ३० किलोसम्म आलु राखेका थिए।

आलु लगाउने समयमा किसानहरु आफूले राखेका आलु लिन जाँदा तापक्रमदेखि अन्य कारणले स्टोरमा राखेका सबै आलुहरु कुहिएर नष्ट भएका थिए । त्यो बेला तत्कालका लागि किसानलाई भुलाउन नगरपालिकाले अनुदानमा प्रतिकिलो ३० रुपैँयामा आलुको बिउ दियो तर आजको दिनसम्म पनि किसानलाई रनभुलमा नै पारेको छ ।

यता कोल्ड स्टोरका संचालक श्याम ढुङ्गनाले २०७९ बैशाख ३० गतेसम्म सम्पूर्ण किसानलाई आलुको क्षतिपूर्ति दिने भनेपनि आजको दिनसम्म उनले पनि केही वास्ता गरेका छैनन् ।

पटकपटक किसानहरुले क्षतिपूर्ति दिलाउन नगरपालिकालाई दबाब दिन थालेपछि पालिकाले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा किसानलाई क्षतिपूर्ति दिलाउन पर्यो भनेर निवेदन दियो तर बिडम्बना प्रशासन कार्यालयले उक्त पत्र नै हराइदिएको भीरकोट नगरप्रमुख गोविन्द कर्मचार्यले बताए ।

कर्मचार्यले पालिकाले पुन निवेदन दिएको बताएका छन् । उनले भने, “हामी समक्ष किसानहरुले पटकपटक क्षतिपूर्तिको माग गरेपछि हामीले निवेदन दिएका थियौँ तर त्यो निवेदन जिल्ला प्रशासन कार्यालयमा नै हराएछ ।’’

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले पत्र हराएको विषय आफूलाई थाहा नभएको र आलुको विषयमा केही कुरा मात्र सुनेको बताएका छन् ।

क्षेत्रीले भने प्रशासनले क्षतिपूर्ति दिलाउन नसक्ने बताए । उनले भने, “हामीले दुबै पक्षलाई एकै ठाउँमा राखेर कुरा गराउन सक्छौँ तर क्षतिपूर्ति त हामीले असूल गराउन कसरी सक्छौँ र ?’’ यता भीरकोटका किसानहरु भने आफूहरुले क्षतिपूर्ति पाउने आाश नभएको बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !