रुपन्देहीको सियारीमा भएको स्वास्थ्य शिविरमा ८ सय भन्दा बढीको स्वास्थ्य जाँच
रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सियारी गाउँवासीलाई स्वस्थ राख्ने भन्दै गाउँपालिकाले बृहत स्वास्थ्य शिविर गरेको हो ।
सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बिका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिविरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् ।
सियारी २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रसुुती सेवा तथा बालरोग सेवा र आखां रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए । उनले क्रिमसन अस्पतालका बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण गरिएको बताए ।
उनले ३२७ जनाले आखाँको जाँच गराईएको र त्यसमध्ये ४५ जनाको मोतिया बिन्दुको अपरेसन गर्नु पर्ने बताए । त्यसै गरी ५ सय बढीले अन्य बिभिन्न रोगको बिषयमा जाँच गराएको घर्तिले बताए ।
नागरिकलाई बिभिन्न रोगका बिषयमा सचेतना फैलाउन तथा उपचार गराउन टाढा जान नसक्ने नागरिकलाई स्वास्थ्य शिविर प्रभावकारी बन्ने उद्धेश्यले शिबिरको आयोजना गरिएको बताए ।
गाउँपालिकामा नयाँ जनप्रतिनिध आएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
उनले सियारीवासी नागरिकलाई स्वास्थ्य राख्ने योजना अनुरुप बिभिन्न स्वास्थ्य शिबिर राखिएको बताए । शिविरमा आउन नसक्ने जेष्ठ नागरिक तथा अशक्त र असाहाय नागरिकलाई घरमै गएर पनि स्वास्थ्य सेवा दिदै आएको उल्लेख गरे ।
पालिकाको संयोजनामा गाउँ स्तरमा भएको स्वास्थ्य शिविरले नागरिकमा पनि उत्साह थपेको छ । शिविरमा स्वास्थ्य उपचार गराएका शिबकुमार मालिले स्वास्थ्य शिबिरबाट आफू निकै लाभान्वित भएको बताए ।
उनले आफुजस्तै अन्य सेवाग्राहि पनि शिबिरबाट लाभान्वित भएको उल्लेख गरे ।