६ आश्विन २०८१, आइतबार

दुधको मूल्यवृद्धिकाे विषयमा दुग्ध उद्योगीबिच नै विवाद, बोर्डले भन्यो, ‘मनपर्दी भयो’

प्रकाशित मिति :  31 December, 2022 1:29 pm


काठमाडौँ । दुधको मूल्य बढाएको विषयमा दुग्ध उद्योगी व्यवसायीबिच नै विवाद देखिएको छ ।

दुध उत्पादन बढी हुने सिजनमा समेत दुधको अभाव देखिएको भन्दै डेरी उद्योग संघले काँचो(झोल) दुधको मूल्य बढाउने निर्णय गरेका छन् ।

बढेको मुख्य अनुसार निजी डेरीबाट उत्पादित दूधको अधिकतम खुद्रा मूल्य शनिबारदेखि प्रतिपोका ५० रूपैयाँ पुगेको छ । उद्योगीका अनुसार किसानले प्रतिलिटर ७० रूपैयासम्म पाउनेछन् । उद्योगीका अनुसार बुधम्यानहरूले प्रतिलिटर ५ रूपैयाँ कमिसन पाउनेछन् ।

तर, नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघभित्रकै केही उद्योगीले समेत मुल्य वृद्धिप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार डेरी उद्योग संघ प्रदेश १ का संयोजक रामचन्द्र उप्रेतीको अध्यक्षतामा बसेको बैठकले एकतर्फी निर्णय भएको आरोप लगाएको छ ।

बैठकले गरेको निर्णयमा भनिएको छ, “सिमित डेरी उद्योगीहरुलाई मात्रै सहज हुने गरी डेरी उद्योगी संघ मार्फत एकतर्फी ढंगले हाल गरिएको मूल्य बृद्धीको सन्दर्भमा यो मूल्य निर्धारण गर्दा सरोकार पक्ष सबैको संलग्नता नदेखिएका कारण सबै पक्षको संलग्नता हुने गरी मुल्य निर्धारण गर्न ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ ।”

सरकारले गतवर्ष माघ १७ गतेदेखि देशभर लागू हुने गरी दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ५६ रूपैँया ४ पैँसा समर्थन मुल्य तोकेको थियो । सरकारले न्युनतम समर्थन मूल्य तोकेपछि घोषित रूपमै सरकारले तोकेभन्दा बढी मूल्य निर्धारण गरेका डेरी उद्योगका दुबै संस्थाले यस विषयमा आधिकारिक धारणा अझै ल्याएका छैनन् ।

उद्योगीले एकाएक मुल्य बढाएपछि राष्टिय दुग्ध विकास बोर्डले आश्चर्य व्यक्त गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले केही सिमित उद्योगी मिलेर मुल्य बढाएको भन्दै यो गलत भएको बताए ।

उनले भने, “हामीलाई कुनै थाहै नदिइ मूल्य बढाइएको छ यो गलत हो । यो उपभोक्ताको ढाँड सेक्ने काम हो ।” सरकारले यसअघि नै मुल्य निर्धारण गरिसकेकाले एक पक्षीय निर्णय मान्य नहुने कार्यकारी निर्देशक यादवले बताए ।

उनले सबै सरोकारवाला पक्षलाई बोलाएर छलफल गर्ने बताए । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले यो निर्णयले आफूहरुलाई पनि आश्चर्य लागेको बताए ।

उनले भने, “मूल्य बढाउनु त पर्छ नै तर सबै पक्षबिच छलफल अनिवार्य छ । यो केही पक्षले मात्रै मुल्य बढाउदा हामीलाई पनि अनौठो लागेको छ ।” दाहालले सुगम क्षेत्रलाई मात्रै नभएर दुर्गम क्षेत्रलाई समेत हेरेर मुल्य समायोजन गर्नुपर्नेमा जोड दिए ।

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले सरकारले गतवर्ष तोकेको न्युनतम समर्थन मूल्यमा थप ५ रुपैँयादेखि १२ रुपैँयासम्म बढि मूल्य तिरेर दुध खरिद गर्न डेरी उद्योग संघमा आबद्ध सबै डेरी सहमत भएको दाबी गरे ।

उनले भने, “बजारमा दुध छैन, चल्तिको दररेटमा ८–१० रुपैँया बढि तिर्दा पनि दुध पाइदैन । कालोबजारी मौलाउन दिनुभन्दा उद्योगी साथीहरूले किसानलाई लाभ हुनेगरी दुधको मुल्य परिमार्जन गरेकोमा डेरी उद्योग संघको सहमति छ ।”

राष्ट्रिय उपभोक्ता मञ्चले दुधको मुल्य बढाउनु गैरकानुनी भएको भन्दै कारबाहीको माग गरेको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाेछ, “ पौष १६ गतेदेखि लागु हुने गरी गरिएको यस मूल्य वृद्धिले आम उपभोक्तालाई अत्यन्त ठूलो भार पर्ने निश्चित छ नै यो भन्दा पनि ठूलो कुरा नयाँ सरकारलाई नकारात्मक चुनौती दिने काम समेत गरेको हामीले महसुस गरेका छौं ।”

मञ्चले डेरी उद्योग तथा डेरी उद्योग संघबाट गरेको मूल्य वृद्धि तत्काल फिर्ता लिन लगाउन र गैरकानुनी कार्य गरेकोमा आवश्यक कानुनी कारबाही गर्न माग गरेको छ ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !