रोल्पाका ३ वटा गाउँपालिकाद्वारा गाडी भाडा निर्धारण, तीन पाङ्ग्रे सवारी साधन दर्ता गर्नुपर्ने
रोल्पा । रोल्पाका ३ वटा गाउँपालिकाले गाडी भाडादर निर्धारण गरेका छन् ।
सुनिलस्मृति गाउँपालिका,लुङ्ग्री गाउँपालिका र सुनछहरी गाउँपालिकाको साेमबार बसेकाे संयुक्त बैठकले गाउँपालिकाभित्र यात्रु बोक्ने गाडीको भाडादर निर्धारण गरेको हो ।
बैठकको निर्णय अनुसार तीनवटै गाउँपालिकाको जुनसुकै ग्रामीण क्षेत्रमा सञ्चालन हुने ४ पाङ्ग्रे सवारी साधनको भाडादर कालोपत्र सडकबाहेक प्रतिकिलोमिटर १५ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै तीन पाङ्ग्रे सवारी साधन गाउँपालिकामा अनिवार्य दर्ता गर्नुपर्ने तथा नविकरण गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
स्थानीय तहमा तीन पाङ्ग्रे सवारी साधन दर्ताका लागि गाउँपालिकाहरूले १५ दिने सूचना प्रकाशन गर्ने निर्णय भएको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।
बैठकले यात्रु तथा सवारी सुरक्षालाई ध्यानमा राखेर सवारी सञ्चालन मापदण्डको पूर्ण पालनाका साथै यातायात व्यवसाय सञ्चालन गर्न सबै यातायात समिति जिम्मेवार बन्ने र सबै गाउँपालिकाले आफ्नो नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने निर्णय समेत भएको छ ।
बैठकमा यातायात व्यवसायी,गाडी धनी, इलाका प्रहरी,ट्राफिक प्रहरी, तीनवटै गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरुको उपस्थितिमा उक्त निर्णय भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।