लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान
काठमाडौं । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गतेको समय दिएका छन् ।
उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्दछ । अहिले केन्द्रमा गठबन्धन गरेका ६ दलका ५३ सांसद रहेका छन् ।
एमाले र माओवादीले मुख्यमन्त्रीको दाबी गर्दै लीला गिरी र जोखबहादुर महरालाई दलको नेता बनाएका छन् । तर केन्द्रबाटै यहाँको मुख्यमन्त्री कुन दलले पाउने भन्ने सहमति भएको छैन ।
एमालेसँग २९ र माओवादीसँग १० सांसद रहेका छन् । सत्तारुढ दलको गठबन्धनमा रहेका राप्रपा र नागरिक उन्मुक्ति ४÷४, जसपा र जनमतको ३/३ सांसद रहेका छन् ।